जेन–जी आन्दोलनपछि अस्थिर बनेको नेपालको सेयर बजार परिसूचक (नेप्से) पछिल्लो एक महिनामा तीन सय ४३ अंकले वृद्धि भएको छ । गत ११ फागुनमा २६१६.९७ विन्दु रहेको नेप्से परिसूचक करिब एक महिनामा ३४३ अंकले बढेर १० चैतमा (मंगलबार) २९६०.४ विन्दुमा पुगेको छ । १२ फागुनमा नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीतिमार्फत कर्जा नीतिलाई खुकुलो बनाएको थियो । त्यसयता बजार प्रायः निरन्तर बढिरहेको छ । २१ फागुनको निर्वाचनपछि बजार थप उचालिएको देखिन्छ । निर्वाचनपछि २५ फागुनमा खुलेको बजार परिसूचक एकै दिन १६२.९३ अंकले बढेको थियो ।
विगतमा चालू पुँजी कर्जाको दुरुपयोग भएको निष्कर्षसहित केन्द्रीय बैंकले चालू पुँजी कर्जा मार्गदर्शनमार्फत कडाइ गरेको थियो । कसिलो कर्जा व्यवस्थाले बैंक तथा वित्तीय संस्थाले अधिक तरलताका बाबजुद कर्जा विस्तार गर्ने समस्या भोग्नुपर्यो । साथै, निर्देशित कर्जाले बैंकहरूमा दबाब सिर्जना गरेको बैंकर बताउँछन् । केन्द्रीय बैंकले बजारमा तरलता प्रवाहलाई सहजीकरण गर्ने उद्देश्यले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत केही व्यवस्था खुकुलो बनायो ।
सोही कारण सेयर बजार चलायमान देखिएको जानकारहरू बताउँछन् । २१ फागुनमा सम्पन्न निर्वाचनको परिणाम आएपछि लगानीकर्तामा थप उत्साह बढेको देखिन्छ । सोही कारण २६ फागुनमा नेप्सेमा सर्वाधिक २१ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक भएयता एक महिनाको अन्तरालमा तीनपटक मात्रै बजार परिसूचक घटेको देखिन्छ ।
जेन–जी आन्दोलनपछिको अस्थिरतालाई पन्छाउँदै २१ फागुनको निर्वाचनले स्पष्ट बहुमतको सरकार बन्ने वातावरण सिर्जना गरेपछि लगानीकर्तामा मनोबल उच्च देखिएको लगानीकर्ता छोटेलाल रौनियारको भनाइ छ । उनले भने, ‘३५ वर्षमा ३० वटा सरकार बनेको परिवेशमा लगानीकर्तामा निराशा थियो । युवा देशभित्र रोजगारी नपाएर विदेसिनुपरेको अवस्था थियो भने उद्योगधन्दा क्षमताअनुसार सञ्चालनमा थिएनन् । तर, निर्वाचनको परिणामअनुसार बहुमतको सुविधाजनक सरकार बन्ने निश्चित भएको छ । यसले सेयर बजारमा उत्साह बढाएको छ । प्रधानमन्त्रीको शपथपछि बजारमा थप उत्साह बढ्ने अपेक्षा गर्न सकिन्छ ।’
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पदभारलगत्तै सेयर बजार सुधारका लागि कार्यदल गठन गरेर प्राप्त प्रतिवेदन कार्यान्वयनमा लगेकाले पनि बजारमा बढ्दो प्रवृत्ति देखिएको रौनियारको भनाइ छ । उनले भने, ‘निक्षेपको ब्याजदर न्यून छ । अहिले ऋणको ब्याजदर पनि सस्तो छ । त्यसैले बजार बढ्ने नै हो ।’ यसअघि धितोपत्र बोर्डले ब्रोकरमार्फत मार्जिक सुविधा दिने व्यवस्था लागू गरे पनि सीमित ब्रोकरले मात्रै यस्तो सुविधा दिइरहेको उनको गुनासो छ । बैंकबाट ६ प्रतिशत ब्याजदरमा मार्जिन सुविधा पाइरहँदा ब्रोकरमार्फत १० प्रतिशतभन्दा बढी ब्याजदर लगाइएकाले सेयर बजारमा तरलता बढ्न सहज नभएको उनले बताए । उनले भने, ‘बैंकले ६ प्रतिशत ब्याजदरमा ऋण दिइरहेको छ भने ब्रोकरले आठ प्रतिशत ब्याजदर लिए पो लगानीकर्ता उत्साहित हुने अवस्था आउँथ्यो । त्यसैले यसलाई सम्बोधन गर्न नियामक निकायले ध्यान पु¥याउनुपर्छ ।’
मंगलबार १४ अर्ब ८३ करोडको कारोबार
मंगलबार नेप्से २३.८३ अंकले बढेर परिसूचक २९६०.४० को विन्दुमा कायम भएको छ । तीन करोड ३८ लाख कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ८३ करोड ९१ लाख रुपैयाँबराबरको कारोबार भएको छ । एक सय ३६ कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय १७ कम्पनीको सेयर मूल्य घटेसँगै ११ कम्पनीको सेयर मूल्य भने स्थिर देखिएको छ । सबैभन्दा बढी राधी विद्युत् कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ६७ करोड ४३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, अपि आवर कम्पनीको ५७ करोड ८७ लाख रुपैयाँबराबरको कारोबार भएको छ । सबैभन्दा बढी सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ता १० प्रतिशतका दरले बढेका छन् । यससँगै आज फस्र्ट माइक्रोफाइनान्स लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.५६ प्रतिशतका दरले गुमाएका छन् ।