नेताको घरमा जलेकाे पैसासहित सबै काण्डको छानबिन हुनुपर्छ : सभापति थापा

मंगलबार, १० चैत, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेताहरूको घरमा भेटिएको जलेको पैसाबारे छलफल हुनुपर्ने बताएका छन्। मंगलबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले यस्तो बताएका हुन्।

गिरिबन्धु, ललितानिवास, वाइडबडीजस्ता विभिन्न काण्डहरू सार्वजनिक खपतको विषय मात्रै बनेकोमा थापाले असन्तुष्टि राखे । यस्ता सबैखाले काण्डको कानुनसम्मत ढंगले अनुसन्धान गरेर दोषी देखिए कारबाहीको दायरामा ल्याउनुपर्ने उनले प्रस्ट पारे।

उनले भने, ‘गिरिबन्धु, ललितानिवास, वाइडबडी जहाज वा भदौ २४ गते नेताको घरमा भेटिएको जलेको पैसा होस्। यी सबै विषयका सम्बन्धमा अनुसन्धान हुनुपर्छ कानुनसम्मत ढंगले । गलत काम भएका छन् भने दण्ड–सजायको भागीदार हुनुपर्छ।’

सार्वजनिक ओहोदामा बस्नेहरूले पदको दुरुपयोग गरेको काण्डहरूमा जोडिएको उल्लेख गर्दै थापाले भने, ‘यी काण्डहरू अब केवल सार्वजनिक खपतको विषय हुनुहुँदैन। आरोप–प्रत्यारोपको विषय पनि हुनुहुँदैन। यो दुधको दुध पानीको पानी हुनुपर्छ। कुनै पार्टी अथवा अमूक कसैले यसको भारी बोक्ने पनि होइन। जसले गरेको छ त्यसले भारी बोक्नुपर्छ।’

सुझावित समाचार