बागलुङकाे ऐतिहासिक चैत्राष्टमी मेला सुरु

मंगलबार, १० चैत, २०८२
डिजिटल संस्करण

बागलुङमा ऐतिहासिक चैत्राष्टमी मेला मंगलबारदेखि सुरु भएको छ। कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिको आयोजनामा सुरु मेला आगामी शनिबारसम्म सञ्चालन हुनेछ।

यस क्षेत्रको परम्परागत संस्कृति झल्कने मेलाको रूपमा रहेको चैत्राष्टमी मेलाको गुठी संस्थानका अध्यक्ष रमेश पोखरेलले उद्घाटन गरेका थिए। पोखरेलले चैत्राष्टमी मेलाले स्थानीय उत्पादनको बजारीकरण र धार्मिक पर्यटक भित्र्याउन सघाएको बताए। उनले यस क्षेत्रको छुट्टै इतिहास बोकेको मेला भएको हुँदा परम्परा संस्कृतिलाई गुठी संस्थानले धान्दै आएका बताए।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बागलुङ कला र संस्कृतिले भरिपूर्ण जिल्ला रहेको हुँदा यस्ता मेला कला–संस्कृतिको जगेर्ना गर्ने थलोको रूपमा विकास भएको बताए।

चैत्राष्टमी मेलाको अवसरमा बागलुङ कालिकामा सबैभन्दा बढी धार्मिक पर्यटक भित्रिँदै आएका छन्। मन्दिरको किंवदन्तीसँग जोडिएको मेला वार्षिक रूपमा लगाइने गरिएको छ। कालिका मन्दिरको ऐतिहासिकतासँग जोडिएको यो मेलालाई झन्डै तीन सय वर्षभन्दा पुरानो मेलाको रूपमा लिइएको छ। 

परापूर्वकालमा कालिका मन्दिर आउने भक्तजनहरूले कुटो, कोदालो, डाला, नाङ्ला र ठेकाठेकी खरिद–बिक्री गर्थे। बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिले हरेक वर्ष चैत्राष्टमीको अवसरमा मेला आयोजना गर्दै आएको छ। 

पर्यटन प्रवर्द्धन, संस्कृति संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार र परम्पराको निरन्तरता दिने उद्देश्यले मेला आयोजना गरिँदै आएको गुठी व्यवस्थापन समितिका अध्यक्ष  भूपेन्द्र खड्काले बताए। पछिल्ला वर्षहरूमा विभिन्न ठाउँहरूमा व्यापारिक मेलाहरू आयोजना हुने गरेको भए पनि नेपालकै प्राचीन मानिएको यो मेलाको आफ्नै महत्त्व र इतिहास रहेको पाका व्यक्तिहरू बताउँछन्।

मेलाको अवसरमा खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता र दोहोरी गीत प्रतियोगितासमेत आयोजना गरिएको गुठी व्यवस्थापन समितिका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले जानकारी दिए।

सुझावित समाचार