उद्योगी तथा व्यवसायीहरूको साझा संस्था उद्योग व्यापार संघ कपिलवस्तुले आयोजना गरेको दुईदिने कार्यशाला लुम्बिनीमा आज सोमबारदेखि सुरु भएको छ। कार्यशालामा जिल्लाका विभिन्न क्षेत्रबाट उल्लेख्य संख्यामा उद्योगी–व्यवसायीहरूको सहभागिता छ ।
कार्यक्रमको उद्घाटन उद्योग व्यापार महासंघका केन्द्रीय महासचिव खिमनारायण पराजुलीले गरे ।कार्यशालामा केन्द्रीय महासचिव पराजुली र संघका सल्लाहकार अर्जुन पोख्रेल मुख्य वक्ता तथा सहजकर्ताका रूपमा सहभागी भई व्यवसाय व्यवस्थापन, नेतृत्व विकास, बजार प्रवर्द्धनलगायत समसामयिक विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको बताएको छ।
संस्थाका अध्यक्ष टोपनारायण बेल्वासेले उद्योगीहरूको हकहित, क्षमता विकास र स्थानीय उत्पादनको प्रवर्द्धनमा यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण हुने बताउँदै आजको प्रतिस्पर्धात्मक बजारमा टिकिरहन उद्योगी–व्यवसायीहरूलाई ज्ञान, सिप र एकता अत्यावश्यक रहेकाे बताए । उनले यो कार्यशाला केवल तालिम मात्र नभई सामूहिक शक्ति प्रदर्शन गर्ने अवसर पनि भएकाे उल्लेख गरे । स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्यसहित अघि बढ्नुपर्ने बेल्वासेले बताए ।
यसैबिच, कार्यशालाको क्रममा स्थानीय उद्योगीहरूले आफ्ना उत्पादनहरूको प्रदर्शनीसमेत गर्ने तयारी गरिएको आयोजकले जनाएको छ। यसले स्थानीय उत्पादनको प्रचारप्रसार र बजार विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।