सूर्यदर्शन सहकारीका जाहेरीकर्ता जैसी नै सहकारी ठगीमा पक्राउ

धनुष सहकारीको ९२ लाख अपचलनको आरोप

मंगलबार, १० चैत, २०८२
डिजिटल संस्करण

पोखराको सूर्यदर्शन सहकारी ठगीमा सुरुमा जाहेरी दिएका जाहेरीकर्ता  नै पोखराको अर्को सहकारी ठगीको आरोपमा पक्राउ परेका छन् । पोखरास्थित धनुष सहकारीको रकम अपचलन गरेको आरोपमा सूर्यदर्शनका जाहेरीकर्ता  कृष्णप्रसाद जैसीलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो । जैसीले धनुषको ९२ लाख अपचलन गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नवीन कार्कीले जैसीसँगै जगत पौडेल गरी दुईजनालाई सोमबार साँझ पक्राउ गरेको जानकारी दिए ।

कार्कीका अनुसार धनुष सहकारीको रकम अपचलन भएको सम्बन्धमा सहकारी रजिस्ट्रारको कार्यालयले ०८१ सालमा अध्ययनपछि वित्तीय विश्लेषण प्रतिवेदन तयार गरेकोमा धनुषको १२ करोडभन्दा बढी रकम अपचलन भएको देखिएको र अपचलन गर्नेहरूलाई आफूले तिर्नुपर्ने पैसा तिर्न भनेपछि केहीले तिरेको, जैसीसहित ६ जनाले रकम तिर्न आनाकानी गरेपछि रजिस्ट्रारको कार्यालयको पत्रको आधारमा जैसी र पौडेललाई पक्राउ गरेको जानकारी दिए । 

अन्य चारजना भने अझै फरार रहेको उनले बताए । उनीहरूलाई विगत एक वर्षदेखि आफूले तिर्नुपर्ने पैसा तिर्न रजिस्ट्रारको कार्यालयलले बारम्बार आग्रहसँगै पत्राचार गर्दै आएकोमा अटेर गरेपछि आइतबार अनुसन्धानका लागि प्रहरीलाई पत्र पठाएपछि सोही पत्रको आधारमा पक्राउ गरिएको कार्कीको भनाइ छ ।

पक्राउ परेको जैसी धनुषको ऋण समिति सदस्य रहेको र सोही समय सहकारीको रकम अपचलन गरेको बताइएको छ । उनलाई प्रहरीले उनको घरबाट पक्राउ गरी लगेको हो । जैसीको सूर्यदर्शनमा ७० लाखको हाराहारीमा बचत रकम रहेको छ । सूर्यदर्शन सहकारीका सञ्चालकले बतचकर्ताको रकम हिनामिना गरेपछि साउन ०७९ देखि नै समस्या देखा परेको थियो । त्यस समयदेखि नै बचतकर्ताहरूले आफनो बचत फिर्ता पाउन सकेका थिएनन् ।

 त्यसपछि सहकारीका सञ्चालकहरूसमेत सम्पर्कमा नआएपछि कार्यालयमा बचतकर्ताहरूको दैनिकजसो भिडभाडसँगै कर्मचारीहरूसँग झगडा हुँदै आएको थियो । त्यसपछि २० कात्तिक ०७९ मा संस्थापक अध्यक्ष गितेन्द्रबाबु राई हालका अध्यक्ष तथा व्यवस्थापक थानबहादुर बुढा, कोषाध्यक्ष कुमार रम्तेलसँगै सञ्चालक सदस्यहरू र बचतकर्तको बैठकमा १२ मंसिरमा साधारणसभा गर्ने सहमति भएको थियो । 

१२ मंसिरको सभामा गितेन्द्र र थानबहादुर मात्र उपस्थित भएका थिए भने अन्य सञ्चालकहरू अनुपस्थित रहेका थिए । सभामा पेस भएको प्रतिवेदनमा संस्थाको हिसाबकिताब अर्थात् ब्यालेन्स सिटमा एक अर्ब ५० करोड देखाइएको थियो । त्यसपछि पुस र माघमा १० र ५० हजारका दरले केही बचतकर्ताहरूको रकम फिर्ता गरिएको थियो । त्यसपछि कुनै सञ्चालकले आफूले बचत गरेको रकम हालसम्म फिर्ता पाएका छैनन् । 

त्यसपछि ठगी प्रकरण पोखरा महानगरपालिका हुँदै जिल्ला प्रहरी कार्यालय कास्की पुगेको थियो । बचतकर्ता जैसीसहितको उजुरीसँगै अन्य आवश्यक अध्ययन गरेर प्रहरीले तयार गरेको प्रतिवेदन १६ असोज ०८० मा सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो । सोही प्रतिवेदन अध्ययनपछि सरकारी वकिलको कार्यालयले १८ असोजमा  १९ जनालाई प्रतिवादी बनाउँदै एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ बिगोसँगै आठदेखि १० वर्ष कैद सजाय माग दाबी गर्दै कास्की जिल्ला अदालतमा मुद्दा दर्ता  गरेको थियो । त्यसपछि ०८१ पुसमा गोविन्द अधिकारीले दिएको निवेदनका आधारमा रवि लामिछानेलगायत अन्यका विरुद्ध पूरक जाहेरी दर्ता भएको थियो ।

सुझावित समाचार