- हेमन्त धामी चम्किएपछि सुदूरपश्चिमले प्रधानमन्त्री कप एकदिवसीयमा आफ्नो पहिलो खेलमा कर्णालीविरुद्ध चार विकेटको जित निकाल्यो
हेमन्त धामीले प्रधानमन्त्री एकदिवसीय (पिएम) कप क्रिकेट प्रतियोगिताको सोमबार एकै खेलमा ६ विकेट लिएका छन् । जनकपुर मैदानमा भएको खेलमा हेमन्तको उत्कृष्ट प्रदर्शनको सहयोगमा सुदूरपश्चिम प्रदेशले छिमेकी कर्णालीलाई ४ विकेटले हरायो । उनी चालू पिएम कपमा ६ खेल सकिँदा ६ विकेट लिने पहिलोे बलर बनेका छन् ।
कर्णालीले पहिलो ब्याटिङ गरी ३२ ओभरमा सबै विकेट गुमाएर ११९ रन बनाएको थियो । प्रत्युत्तरमा सुदूरपश्चिमले २९.६ ओभरमा ६ विकेटको नोक्सानीमा १२२ रन जोड्दै चार विकेटको जित निकाल्यो । जितसँगै सुदूरपश्चिमले महत्वपूर्ण दुई अंक जोडेको छ । कर्णालीका सुनील धमलाले २८ रन, अरविन्द घर्तीले १२ रन तथा विपिन रावलले सर्वाधिक ३३ रनको योगदान दिएका थिए । यसबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले कर्णालीका लागि गतिलो योगदान दिन सकेनन् ।
कर्णालीले अतिरिक्तबाट २२ रन पाएको थियो । सुदूरपश्चिमका बलरले १५ वाइड अतिरिक्त रन दिएको थियो । यसैगरी, सुदूरपश्चिमले पाँच नोबल फ्याँकेको थियो । पहिलो ब्याटिङ गरेको इनिङ्समा कर्णालीका ओपनर रवीन्द्र शाही, दीपेन्द्र रावत र दिवान पुन डकआउट भएका थिए । अर्जुन चनारा शून्य रनमा नटआउट रहे ।
ह्याट्रिक गर्न भने चुके
कर्णालीविरुद्ध म्यान अफ बनेका हेमन्त दुईपटक ह्याट्रिक विकेट लिन चुकेका थिए । इनिङ्सको तेस्रो बलमै उनले रवीन्द्रलाई आउट पार्दै उत्कृष्ट सुरुवात गरेका थिए । उनले २८औँ ओभरमा तीन विकेट लिँदा पनि ह्याट्रिक गरेनन् । २८.१ ओभरमा उनले घर्ती र २८.२ ओभरमा रावतको विकेट लिएका थिए । २८.६ ओभरमा हेमन्तले रावलको विकेट लिएका थिए । यसैगरी, ३०औँ ओभरमा पनि उनले लगातार दुई विकेट हात पारेका थिए । उनले ३९.४ ओभरमा दिनेश अधिकारी तथा ३०.५ ओभरमा दिवान पुनको विकेट लिए । कर्णालीविरुद्ध कसिलो बलिङ स्पेल गरेका उनले सात ओभरमा एक मेडन राखी १६ रन खर्चदै सर्वाधिक ६ विकेट लिएका थिए ।
सुदूरपश्चिमको मध्यम ब्याटिङ
१२२ रनको सहज लक्ष्य पछ्याएको सुदूरपश्चिमले मध्यम ब्याटिङ गरेको थियो । खड्क बोहराले २३ रन र किरण ठगुन्नाले२६ रनको योगदान दिएका थिए । त्यसपछि मिला बोहराले १८ रन तथा कप्तान शेर मल्लले १० रन जोडेका थिए । यसबाहेक अन्य ब्याट्सम्यानले गतिलो रनको योगदान दिन सकेनन् । राजु रिजाल र नरेन भट्टले समान सात रन जोडेका थिए । नारायण जोशीले ११ बल सामना गरे पनि शून्य रनमा आउट भए । कर्णालीको बलिङमा अनुज चनाराले ६ ओभरमा ३३ रन खर्चेर दुई विकेट लिएका थिए । दिवनले नौ ओभरमा एक मेडन राखी २७ रन दिँदै दुई विकेट हात पारेका थिए । सुदूरपश्चिमले जितमा अतिरिक्त २५ रन पाएको थियो । मुख्य बलर विपिन शर्माको अनुपस्थितिमा कर्णाली बलिङमा कमजोर देखियो । पहिलो खेलमा लुम्बिनीसँग अंक बाँडेको कर्णाली भने दोस्रो खेलमै पराजित भयो ।
लुम्बिनीको पहिलो जित
कप्तान देव खनाल शतक बनाउन मात्र ८ रनले चुके पनि लुम्बिनी प्रदेशले पिएम कपमा पहिलो जित निकालेको छ । लुम्बिनीले कोशीलाई एक सय ४८ रनको फराकिलोअन्तरले पराजित गर्यो । पहिलो ब्याटिङ गरेको लुम्बिनीले ४९.३ ओभरमा सबै विकेट गुमाएर दुई सय ४९ रन बनायो । प्रत्युत्तरमा कोशी ३१.४ ओभरमा अलआउट हुँदा मात्र एक सय एक रन बनायो ।
लुम्बिनी दुई खेलमा तीन अंक जोड्दै शीर्ष स्थानमा छ । कोशी पहिलो खेलमै पराजित भयो । कोशीको इनिङ्समा अंकित सुवेदीले सर्वाधिक ३० रन बनाए । उनले ४६ बलमा तीन चौका प्रहार गरे । लुम्बिनीका सन्तोष यादवले सर्वाधिक चार विकेट लिएका थिए । राजेन्द्र बमले तीन तथा निर्मल गुरुङले दुई विकेट लिए । जनकपुरको रामजानकी बहुउद्देशीय रंगशालामा लुम्बिनीका कप्तान देवले ९२ रन बनाए । उनले एक सय बलमा आठ चौका र एक छक्का प्रहार गरे । ओपनर रञ्जित खड्काले ३५ रनको योगदान गरे । सन्तोष यादव रनआउट हुनुअघि ४८ रन बनाए । पहिलो विकेटका लागि देव र रञ्जितले १३.२ ओभरसम्म ८६ रनको बलियो साझेदारी गरेका थिए । कोशीका सुजन थपलियाले सर्वाधिक चार विकेट लिएका थिए ।
लुम्बिनीको कसिलो बलिङ
लुम्बिनीले दिएको २५० रनको लक्ष्य त्यति गाह्रो थिएन । प्रतिओभर पाँच रनरेटमा ब्याटिङ गर्दा पनि कोशीले सहजै लक्ष्य पछ्याउन सकिन्थ्यो । तर, कोशीको ब्याटिङ अनपेक्षित रूपमा कमजोर देखियो । यसमा लुम्बिनीका बलरले उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए । लुम्बिनीको फराकिलो जितमा सन्तोष यादवले घातक प्रदर्शन गरेका थिए । उनले सात ओभरमा एक मेडन राखी ११ रन खर्चेर चार विकेट लिएका थिए । उनले दुई ओभरको अन्तरमा चार विकेट हात पारेका हुन् ।
इनिङ्सको १७.२ ओभरमा सन्तोषले कोशीका सोनु अन्सारी र १७.४ ओभरमा बजागाईंको विकेट लिँदै कोशीलाई ६१–६ को स्थितिमा राखे । त्यसपछि इनिङ्सको १२ ओभरमा फिर्दोष अन्सारी र १९.३ ओभरमा महतोको विकेट लिँदै उनले कोशीलाई ६२/८ को कमजोर अवस्थामा राखे । यसैगरी, राजेन्द्र बमले ६.४ ओभरमा ३० रन खर्चेर तीन विकेट लिए । निर्मल गुरुङले पाँच ओभरमा १६ रन दिँदै दुई विकेट हात पारे । कोशीको ब्याटिङमा अंकित सुवेदीले ४६ बलमा तीन चौकाको सहयोगमा ३० रन बनाए । दीपेश कँडेलले १५ रनको योगदान दिए । सो इनिङमा तीनजना ब्याट्सम्यान डकआउट भए ।