निर्वाचनमा कांग्रेस पराजय हुनुमा नेतृत्वलाई मात्र दोष दिन मिल्छ त ?
कांग्रेसको अहिलेको हारका लागि वर्तमान नेतृत्वको कुनै दोष छैन । पहिल्यैदेखि पुराना नेताका सत्तालिप्सा, कुशासन, सत्ताको म्युजिकल चियरका कारण जनतामा थिग्रिएको असन्तुष्टिको एकसाथ विस्फोट हो यो हार । पुरानो नेतृत्वका कारण पार्टीमा पुगेको ‘ड्यामेज कन्ट्रोल’ गर्ने प्रयास वर्तमान सभापति गगन थापा र उनको टिमले गरेको हो । तर, एकदमै छोटो समय पाएको हुनाले उनीहरूले पार्टीमा जान लागेको पहिरो रोक्न नसकेका मात्र हुन् । शेरबहादुर देउवाकै नेतृत्वमा पार्टी चुनावमा गएको भए योभन्दा पनि तल झर्ने पक्का थियो । धन्न नयाँ नेतृत्वले पार्टी सम्हालेको हुनाले मात्र यति सिट आएको हो । त्यसैले, यो पराजयका लागि वर्तमान नेतृत्वलाई दोष दिनु अन्याय हो ।
कांग्रेसभित्रको वर्तमान किचलोले पार्टीलाई कहाँ पुर्याउला ?
यसले पार्टीलाई कहीँ पनि पुर्याउँदैन । पुरानो संस्थापन समूहका नेताको यो समानान्तर गतिविधि भनेको उनीहरूको हातबाट पार्टीको सत्ता खोसिनुको पीडा र हारको मानसिकता मात्र हो । नयाँ सभापति गगन थापाको हस्ताक्षरबाट निर्वाचनमा सहभागी हुने अनि अहिले विशेष महाधिवेशन मान्दैनौँ भन्नु भनेको अत्तो थाप्ने काम मात्र हो । उनीहरू सर्वोच्च अदालतले आफूहरूको पक्षमा निर्णय दिन्छ कि भन्ने झिनो आशाको त्यान्द्रोमा झुन्डिइरहेका छन् । त्यसैलाई बहाना बनाएर उनीहरूले पार्टीमा किचलो बढाएका हुन् । यसले निर्वाचन परिणामपछि कमजोर भइसकेको पार्टीलाई थप कमजोर बनाउँछ ।
अहिलेको अवस्थाबाट माथि उठ्न कांग्रेसले के गर्नुपर्ला ?
कांग्रेस माथि उठ्न जनतामा आशा र भरोसा दिलाउन नसक्ने विशेष महाधिवेशनबाट आएको नेतृत्व थप सक्रिय हुनुपर्छ । निर्वाचनमा हारजित स्वाभाविक हो । हारबाट विचलित हुनुहुँदैन । आन्तरिक विवादमा नअल्झी नियमित महाधिवेशन गरेर वर्तमान नेतृत्वलाई नै अघि लगाएर जाने हो भने भावी दिनमा कांग्रेस उठ्न कठिन छैन ।