अति सीमान्तकृत समूहभित्र पर्ने माझी समुदायका अगुवाहरूले राज्यका विभिन्न तह र तप्कामा यो समुदायकाे प्रतिनिधित्व समेट्न माग गरेका छन् । आफ्नै विशेषता बोकेको यस जाति सीमान्तकृत समुदायका रूपमा रहेको र हाल संघ र प्रदेशको राजनीतिक तहमा यस समुदायको उपस्थिति नभएको, समावेशिता र सहभागिताका हिसाबले यो जाति अति पछि परेको, आफ्नो समुदायको प्रतिनिधित्व नहुँदा समुदायका समस्या र माग उठान गर्न कठिन भएको भन्दै माझी समुदायका अगुवाहरूले यस्तो माग गरेका हुन् ।
नेपाल माझी गुठी समिति जयमंगल– ७, सिन्धुलीले माझी समुदायको आवाज राज्यले सुन्नुपर्ने र यो समुदायको प्रतिनिधित्वलाई पनि राज्यले प्राथमिकतामा राख्नुपर्ने बताएको छ । समितिले माझी समुदायलाई एकता गर्दै उनीहरूको सिंगो आवाजलाई राज्यको पहुुँचमा पुर्याउन पहल गरेको माझी समुदायका अगुवा दिलकुमार माझीले बताए ।
‘समितिले विधान नै बनाएर यो जातिको सबै तप्कामा सहभागितामूलक प्रतिनिधित्व गराउने पहल गरिरहेको छ, राष्ट्रिय समावेशी आयोग, मानव अधिकार आयोग, गृह मन्त्रालय, स्थानीय सरकारलगायतलाई हामीले पहल गरेर यो समुदायको प्रतिनिधित्व र आवाज समेट्न चाहन्छौँ,’ उनले भने, ‘अहिले यो समुदायको तर्फबाट राजनीतिक सहभागिता र अन्य क्षेत्रमा पनि सहभागिता कमजोर छ, २०६४ को संविद्यान सभा निर्वाचनमा तुलबहादुर माझी थिए, ०७४ मा बसन्त माझी प्रदेश सांसद माझी समुदायका थिए, तर त्यसयता भने माझी समुदायलाई राजनीतिमा समेट्न खोजिएको छैन ।’
उनका अनुसार हाल देशभर एक लाख २३ हजारहाराहारी माझी समुदायको सहभागी छ । यो जाति मूलत: खोला, कोशीको किनारमा बसोबास गर्ने, माछा मार्ने, डुंगा चलाउने, मर्चा बनाउने, खेतीपाती गरेर जीविकोपार्जन गर्ने जातिमा पर्छ । तर, पछिल्लो समय यो समुदायका मानिसहरू लेखपढ, रचनात्मक कार्य, प्रतिस्पर्धात्मक कार्यमा भाग लिन अग्रसर छन् ।
यो समुदायको बढी बसोबास रामेछाप, सिन्धुली, झापा, मोरङ, सुनसरीलगायत जिल्लामा छ । नेपाल माझी गुठी समिति जयमंगल– ७, सिन्धुलीले २० फागुनमा लदी पूजा मनाउन पनि समन्वय गरेको थियो । माझी समुदायले अन्य समुदायले जस्तै आफ्नो भाषा, कला र संस्कृतिको संरक्षण र जगेर्ना गर्दै आइरहेको माझी समुदायका अगुवा तथा माझी सभ्यताका खोजकर्ता दिलकुमार माझीले बताए ।
‘हाम्रो धार्मिक र परम्परागत मान्यताअनुसार लदी पूजा गरिन्छ, यो पूजाले देशमा शान्ति र समुदायमा विश्वास बढाउँछ, साथै नदीनाला पनि सफा–सुग्घर राख्नुपर्छ भन्ने मान्यताअनुसार हरेक वर्ष नदीको नजिकै पूजा गरिन्छ, यस समुदायको विशेषता र भूमिका भिन्न रहँदै आएको छ, कुनै वेला रामछापको रजगाउँमा मन्दिरे माझी राजा थिए,’ उनले भने, ‘उनले माझी समुदायको सभ्यतामा महत्त्वपूर्ण भूमिका खेलेका थिए, अहिले पनि ती राजाको दरबारको भग्नावशेष देख्न सकिन्छ ।’