रातको समयमा पटनाको परिक्रमा गर्ने हवाईजहाजबाट देखिने दृश्य भारतको दोस्रो श्रेणीको सहरको हुन सक्छ । उज्याला सडकहरूले ढाकिएको बाक्लो कंक्रिटको कार्पेट, सिसाका किनमेल केन्द्रहरू, करिब आधा काम समाप्त भएको उन्नत मेट्रो लाइन इत्यादि । यद्यपि, धरातलीय दृष्टिले यो स्पष्ट हुन्छ कि यो भारतको सबैभन्दा गरिब राज्य र लगभग १३ करोड मानिसको घर बिहार हो । यो लामो समयदेखि साइकलको बाहुल्य रहेको क्षेत्र हो । साइकल धेरै पहिले सहरी भारतबाट पछि हटेका थिए, किनभने श्रमिक वर्गले स्कुटर र मोटरसाइकल किन्न थाले ।
सडक, बत्ती, किनमेल केन्द्रहरू (अँध्यारोपछि बाहिर निस्कने आत्मविश्वास पनि) नीतीश कुमारको काम हो, जसले विगत २० वर्षमा (नौ महिनाबाहेक) सबै समय मुख्यमन्त्रीको रूपमा राज्य चलाएका छन् । नोभेम्बरमा उनको गठबन्धन पाँचौँपटक कीर्तिमानी जित निकाल्यो । यस महिना कुमारले आफू पद त्याग्ने र भारतको संसद्को माथिल्लो सदनमा जाने घोषणा गरे । आजको बिहार उनका उपलब्धि र उनका कमजोरीको प्रदर्शन हो ।
आयुर्वेदिक डाक्टरको घरमा जन्मेका नीतीशमा सानै उमेरदेखि नै व्यवस्थित हुने चाहना थियो । उनीसँग सम्बन्धित किस्सा धेरै रोचक छन् । उनले घरका कामदारले हरेक दिन नुहाउनुपर्छ भन्ने कुरामा जोड दिए र नुहाउन नचाहनेलाई एन्टिसेप्टिक छर्के, पत्रकार संकर्षण ठाकुरले कुमारको जीवनी ‘सिंगल म्यान’मा लेखेका छन् । विश्वविद्यालयमा उनले सफा कोठा कायम राखे र भान्सेहरूलाई साबुनका डल्ला दिए । राजनीतिक काममा सिलसिलामा नयाँ–नयाँ ठाउँमा र घुम्दै सहयोगीको घरमा जाँदा उनले सुत्नका लागि नयाँ तन्ना आफूसँगै लैजान्थे ।
त्यसैले, कहिल्यै पनि व्यवस्थित नभएको बिहार पूर्ण अराजकतामा परिणत हुनुले अझ बढी पीडा दिएको हुनुपर्छ । १५ वर्षसम्म नीतीशले मुख्यमन्त्रीको रूपमा पूर्ववर्ती लालुप्रसाद यादवले राज्यलाई लुटपाट गरेको हेरे । राज्यमा अपहरण, अवाञ्छित गतिविधि, जबर्जस्ती रकम असुल्ने र हत्या गर्ने संस्कार थियो । जब यादवमाथि भ्रष्टाचारको आरोप लगाइयो, उनले आफ्नी निरक्षर पत्नीलाई मुख्यमन्त्रीको रूपमा स्थापित गरे र जेलबाट शासन गरे । अझै पनि धूर्त जातीय गणनाको साथ चुनाव जिते । अर्थतन्त्र स्थिर रह्यो । यादवको अन्तिम कार्यकालमा औसत वार्षिक वृद्धि ३.२ प्रतिशत थियो, जुन राष्ट्रिय दरको आधा हो ।
विनम्र स्वभावका तर चतुर राजनीतिज्ञ नीतीशले भारतीय जनता पार्टी (भाजपा) सँग सम्झौता गरे, जसको उच्च जातको मत आधार थियो । उनले अन्तत: २००५ मा सत्तारोहण गरे र अपराध नियन्त्रण गर्ने काम सुरु गरे । उनको पहिलो कार्यकालमा आपराधिक गतिविधि ६८ प्रतिशतले घटेको थियो । उनले विकास निर्माणमा उल्लेख्य सुधार गरे । सडक र पुल निर्माण गरे । उनले अल्पसंख्यक, उत्पीडित जाति, महिला र केटीहरूलाई लक्षित कल्याणकारी योजनाको एक खाका सार्वजनिक गरे । फलस्वरूप बिहारमा स्कुल भर्नादर बढ्यो । स्वास्थ्य क्लिनिकले आपूर्ति प्राप्त गरे । राज्यमा अन्न उत्पादन दोब्बरले वृद्धि भयो । उनको पहिलो कार्यकालभरि अर्थतन्त्र प्रतिवर्ष औसतमा १० प्रतिशतभन्दा बढीले वृद्धि भयो, जुन समग्र भारतको भन्दा पाँचौँ छिटो वृद्धि हो । सुशासन बाबु, ‘मिस्टर गुड गभर्नेन्स’को नामले परिचित नीतिश धेरै हिसाबले गुजरातका तत्कालीन मुख्यमन्त्री तथा भाजपाका नरेन्द्र मोदीका ऐना थिए । २०१० सम्ममा मोदीलाई पनि एक असाधारण प्रशासकको रूपमा सम्मान गरिएको थियो । दुवैजना सामान्य पृष्ठभूमिबाट आएका थिए, दुवैले आफ्ना राज्यलाई सूक्ष्म व्यवस्थापन गरे र दुवैले चुनावलाई आफैँमा जनमत संग्रहमा परिणत गरे । फरक यति थियो कि गुजरात पहिले नै समृद्ध थियो । नीतीशले बिहारलाई यसको गहिराइबाट बाहिर निकाल्नुपरेको थियो ।
अर्को ठु्लो भिन्नता नीतीश कुमारको धर्मनिरपेक्षताको प्रतिज्ञा थियो । मोदी एक निर्दयी हिन्दु–राष्ट्रवादी हुन् । त्यहीकारण नीतीशले आफ्नो दोस्रो कार्यकालको आधा बाटोमा २०१३ मा भाजपासँग सम्बन्ध तोडेका थिए । बढ्दो अपराध र असीमित अपेक्षासँगै त्यतिन्जेलसम्ममा सुशासन बाबुको सरकारमा चमक आउन थालिसकेको थियो । तैपनि, बिहारको राजनीतिक यथार्थवादले नीतीशलाई फेरि लालु यादवको काखमा फर्काउन बाध्य पार्यो, जसले बिहारलाई ध्वस्त पारेका थिए । नीतीश विगत एक दशक शक्तिमा रहन निर्वाचनमा विभिन्न शक्तिको सहयोग लिन माहिर देखिए । त्यही भएर उनलाई नजिकबाट चिन्नेले कुर्सी कुमारसमेत भन्छन् । उनको ध्यान शासनबाट विचलित भएको छ । उनी अब बिहारमा भाजपासँग फेरि ओछ्यानमा छन् र दिल्लीमा मोदीको सरकारलाई टिकाउन मद्दत गर्नेछन् ।
गत वर्षको विधानसभा निर्वाचनको समयमा नीतीशको एउटा यस्तो शत्रु थियो, जसलाई सबैभन्दा धूर्त राजनीतिज्ञले पनि हराउन सक्दैनथ्यो । अहिले ७५ वर्ष पुगेका उनी निर्विवाद रूपमा पतनको बाटोमा छन् । भारतको माथिल्लो सदनमा सर्दै गर्दा उनले एउटा यस्तो राज्य छाडे, जुन भारतको सबैभन्दा गरिब राज्य नै रह्यो । प्रतिव्यक्ति जिडिपी ८०० डलरभन्दा कम रहेको उक्त राज्य अझै पनि कंगोको बराबर छ । लाखौँ बिहारीहरू कामका लागि अन्य राज्यमा बसाइँ सर्छन् । भ्रष्टाचार अझै पनि व्याप्त छ । तैपनि, उनले एउटा यस्तो राज्य पनि छाडे, जसले आफ्ना नेताबाट बढी आशा गर्न सिकेको छ । बिहारका जनता अब उनीहरू कहाँबाट आएका हुन् भन्ने संकोच मान्दैनन् । ठाकुरले आफ्नो पुस्तकमा भनेझैँ वास्तविक परिवर्तन ‘बिहारीहरूको दिमाग र मनोविज्ञानभित्र’ छ ।
– द इकोनोमिस्टबाट