सूर्य नेपाल वेस्टर्न ओपन प्रो एम उपाधि प्रो सञ्जय लामाको टिमले १ सय ३९ अंकसहित जितेको छ । सञ्जयले ३४ अंक बनाउँदा एमेच्योर खेलाडीहरू सत्यजोत रानाले ३९, गीता गुरुङले ३५ र टेन्डी शेर्पाले ३१ अंक बनाए । प्रो रवि खड्काको टिम १ सय २२ अंक सहित दोस्रो भयो । रविले ३० अंक बनाउँदा सोम गुरुङ र फुर्साङ लामाले समान ३१ तथा श्याम तामाङले ३० अंक जोडेका थिए ।
प्रो भुवन नगरकोटीको टिम १ सय १८ अंक सहित तेस्रो भएको छ । भुवनसँगै एमेच्योर खेलाडीहरू सुजन थापा र रञ्जन थापाले समान ३० तथा कमल सुवेदीले २८ अंक बनाए । महिलातर्फ उत्कृष्ट स्कोर गीता गुरुङले निकालिन् । उनले ३५ अंक जोडिन् । प्रतियोगितामा लंगेस्ट ड्राइभको उपाधि जय न्युगेन्ट र क्लोजेस्ट टु दी पिनको उपाधि सुबोध थापाले जिते ।
शुक्रबार सम्पन्न सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि भने भुवन नगरकोटीले जितेका थिए । उनले समग्रमा ३ अन्डर २ सय ४ को स्कोरमा सञ्जय लामालाई एक स्ट्रोकले हराउँदै उपाधिमा ह्याट्रिक गर्न सफल भएका थिए । सञ्जय लामा दोस्रो र एमेच्योर राहुल विश्वकर्मा तेस्रो स्थानमा रहे । सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा योपटक खेलाडीले कुल १० लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे । पहिलो भएका भुवनले एक लाख ७० हजार, दोस्रो भएका सञ्जयले एक लाख २५ हजार र प्रोतर्फ तेस्रो भएका शुक्र बहादुर राईले नगद १ लाख प्राप्त गरेका हुन् ।
प्रो एमका विजयी खेलाडीहरूलाई नेपाल गल्फ संघका अध्यक्ष टासी घले, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा विष्ट र कास्की जिल्ला गल्फ संघका उपाध्यक्ष भक्तराज गुरूङले पुरस्कार वितरण गरे । प्रो एममा ७५ जना एमेच्योर र १५ जना प्रोफेसनल गरी कुल ९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।