रुपन्देहीमा फागुनमा अपराधसँग सम्बन्धित १०४ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार दर्ता भएका मुद्दामा संगठित तथा आर्थिक अपराधका मुद्दा ३७ वटा छन् । सामाजिक अपराधका मुद्दाको संख्या उल्लेख्य छ । जिप्रकाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार आर्थिक अपराधका मुद्दामा धेरै बैंकिङ कसुरसँग सम्बन्धित छन् । बैंकिङ कसुरका मुद्दा दैनिकजसो आउने गरेको प्रहरीले जनाएको छ ।
रुपन्देही प्रहरीमा सामाजिक अपराधका मुद्दा २१ वटा दर्ता भएका छन् । ज्यानसम्बन्धी नौ, चोरीका तीन, सवारीसम्बन्धी ११, महिला, बालबालिकासम्बन्धी अपराधका पाँच तथा आत्महत्याका १८ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् । फागुनमा प्रहरीले ७८ जना चालू मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ । फागुनमा मात्रै घरेलु हिंसाका ४४ वटा उजुरी दर्ता भएकोमा ३५ वटामा मिलापत्र गराइएको छ । एक महिनामा हराएका महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिक संख्या ६३ छ । सबैभन्दा धेरै महिला छन् । जिप्रकाका प्रनाउ चन्दका अनुसार महिला ३०, बालिका १५, ज्येष्ठ नागरिक महिला एकजना फागुन महिनामा हराएका छन् । पुरुषतर्फ ज्येष्ठ नागरिक एक, बालक दुई र पुरुष १४ हराएको तथ्यांक छ । २१ जना भेटिएका छन् । जसमा महिला नौ, पुरुष सात, बालिका तीन, बालक एक, ज्येष्ठ नागरिक पुरुष एक छन् ।
रुपन्देहीमा फागुनमा घरेलु हिंसाका ४४ वटा उजुरीमध्ये घरायसी झै–झगडाका ११ वटा छन् । मादक पदार्थ सेवन गरी गालीगलौजका सात, विवाह दर्ता र नागरिकता नबनाइदिएको तीनवटा उजुरी पनि परेका छन् । लागुऔषधका मुद्दा ११ वटा रहेकोमा २१ जना पक्राउ परेका थिए । प्रहरीले सात किलो १५० ग्राम गाँजा, ३८ ग्राम ९४ मिलिग्राम ब्राउनसुगर, नुफिनसमेतको एक हजार ६११ एम्पुल लागुऔषध बरामद गरेको छ । जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरीमा आएका २१ वटा उजुरीमा ११ वटा फस्र्योट भएका छन् ।
फागुनमा रुपन्देहीमा १५५ सवारी दुर्घटना भएको तथ्यांक छ । यी दुर्घटनामा परेर नौजनाको ज्यान गएको छ । २४३ जना घाइते भएका छन् । प्रहरीले चेकजाँचका क्रममा दुई हजार १४३ वटा सवारीसाधनलाई कारबाही गरेको छ । यसबाट ३३ लाख २८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणतर्फको कारबाहीमा एक करोड ८८ लाख १३ हजार ६९८ रुपैयाँँ संकलन गरेको छ । यस अवधिमा राजस्व छलीमा संलग्न १८ जनालाई पक्राउ पनि गरिएको प्रहरीले जनाएको छ ।