शनिबार १० बजेसम्मका प्रमुख १० खबर

शनिबार, ७ चैत, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्रीले गरिन् निगौल गाई गौशालाको निरीक्षण

शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले गौशाला नगरपालिका- ३, नवराजपुरस्थित निगौल गाई गौशाला निरिक्षण गरेकी छिन्। गाईहरूको भोकले भएको दुरावस्थाबारे बोल्दै उनले उपस्थित सबैलाई गौरक्षाको लागि आग्रह गरिन्। मानवमा जस्तै भाव र ज्यान पशुमा भएकोले पशुलाई जसरी भए पनि खानाबाट वञ्चित नगर्न उनको आग्रह थियो। उनले निगौल गाई गौशाला व्यवस्थापन कार्यालयका कार्यालय प्रमुखसहित सरोकारवालालाई गाईको अवस्थाबारे चिन्ता व्यक्त गर्दै गौै संरक्षण र व्यवस्थापन राम्रो बनाउन निर्देशन दिइन्। उनले सोही निर्देशनात्मक आग्रह जनप्रतिनिधिहरूलाई समेत गरिन्। 

सिंगापुरबाट हङकङ पुगे देउवा

कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुरबाट हङकङ पुगेका छन्। उपचार तथा पारिवारिक कामका लागि उनी हङकङ गएको देउवाको सचिवालयले जनाएको छ। गत १४ फागुनमा देउवा उपचारका लागि सिंगापुर गएका थिए। हङकङमा केही दिन बसेर देउवा स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ। 

चराको संख्या घट्दै गएपछि संरक्षणकर्मी चिन्तित

बर्दियामा थलचर र जलचर चराको सङ्ख्या घट्दै गएपछि संरक्षणकर्मी चिन्तित बन्न थालेका छन् । खेतबारी प्रयोग हुने रासायनिक मल र विषादीको बढ्दो प्रयोगले पछिल्लो समय थलचर र जलचर चराको संख्या घट्दै गएपछि संरक्षणकर्मीहरु चिन्तित बन्न थालेका हुन् । गाउँघर, खेतबारी, नदीनाला , सिमसार क्षेत्र र वन जङ्गलमा पहिला जस्तो अचेल चरा देखिन छाडेको चराविद् रामबहादुर शाहीले बताए। उनले भने, ‘अचेल पहिलाझैँ चरा देखिदैन, यो गम्भीर चिन्ताको विषय हो । खेतबारी बढ्दो रासायनिक मल र विषादीको प्रयोगले गर्दा चराको संख्या कम हुँदै गएको छ । चराहरू किसानको साथी हुन् । तर पछिल्लो समय किसानले प्रयोग गरिरहेका रासायनिक मल र विषादीको प्रयोगले चरा मर्न थालेका छन् ।’

कानुन व्यवसायी महिलाहरूको माग : नागरिकताको प्रावधान स्पष्ट हुने गरी संविधान संशोधन हुनुपर्छ

कानुन व्यवसायी महिलाहरूले नागरिकताको प्रावधानमा संशोधन हुनुपर्ने माग गरेका छन्। शनिबार सम्पन्न महिला कानुन व्यवसायीहरूको दुईदिने राष्ट्रिय सम्मेलनको घोषणापत्र जारी गर्दै उनीहरूले यस्तो माग गरेका हुन्। ‘नागरिकता प्राप्ति तथा प्रदान गर्ने सम्बन्धमा संविधानमा नै अस्पष्ट र विभेदकारी व्यवस्था भएको हुँदा यस सम्बन्धमा संविधान संशोधन गर्न यो सम्मेलन विधायिकाको ध्यानाकर्षण गराउँदछ,’ घोषणापत्रको १६औँ बुँदामा छ। आमाको नामबाट नागरिकता पाउने स्पष्ट संवैधानिक तथा कानुनी व्यवस्था भए पनि व्यवहारमा कठिनाइ भइरहेकाले सहज रूपमा नागरिकता प्रदान गर्न आवश्यक व्यवस्था गर्नसमेत सरकारसामु सम्मेलनले माग गरेको छ।

ताप्लेजुङको पाथीभरा, याङ्मालगायत हिमाली क्षेत्रमा हिमपात

ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा पुनः हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रसहित फक्ताङलुङ गाउँपालिकाका याङ्मा, घुन्सा र ओलाङचुङगोला लगायत बस्तीहरु सेताम्य भएका छन् । योसँगै २०८२ सालमा जिल्लाको हिमाली क्षेत्रमा चौथोपटक हिमपात भएको भएपनि चैतमा भने पहिला भन्दा बाक्लो हिमपात भएको छ । 

मौसमको असामान्य उतार चढावबीच चैत्र महिनामै परेको हिमपात उत्तरी हिमाली बस्तीहरू हिउँले सेताम्मे बनेका छन् भने तल्लो तथा मध्य पहाडी भेगका खेतबारीमा लगाएको बाली सप्रने आसले कृषकहरु खुसि भएका छन् ।

खक्रौला गुल्मका कमान्डरसहितका कर्मचारीलाई मुख्यालय झिकाइयो

कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल (एसपिएफ) सीमा सुरक्षा गुल्ममा सुरक्षा लापरबाही भएको पाइएपछि सो गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलसहितका कर्मचारीहरू काठमाडौंस्थित प्रधान कार्यालय झिकाइएको छ।

चैत्र ४ गते भारतबाट अवैध रूपमा ल्याउँदै गरिएको सामान पक्राउको विषयमा केही तस्कर समूहले अनधिकृत रूपमा गुल्मको कार्यालयभित्र प्रवेश गरेर गुल्मपतिमाथि हातपातको प्रयास गर्दासमेत बल प्रयोग नगरेको र युनिटको सुरक्षा पर्याप्त नभएको पाइएको छ। यस विषयमा प्रधान कार्यालयले गम्भीर छानबिन गर्ने निर्णय गरेको छ।

ल फर्मको विस्फोटमा संलग्नताको आशंकामा एक पक्राउ

सिराहाको जिल्ला सदरमुकाम सिराहास्थित ल फर्ममा ११ दिनअघि भएको विस्फोटको घटनामा संलग्न रहेको आशंकामा एकजना पक्राउ परेका छन्। जिल्ला अदालत बार एसोसिएसनको कार्यालय रहेको भवनको सटरमा अधिवक्ता मधुसुदनप्रसाद यादवले चलाइरहेको ल फर्ममा गत २७ फागुनमा भएको विस्फोटको घटनामा संलग्नता रहेको आशंकामा एक लेखापढी व्यवसायीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको सिराहा प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार बम विस्फोटको घटनामा संलग्न रहेको आशंकामा एकजना लेखापढी व्यवसायीलाई चार दिनअघि पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिए, तर नाम भने खुलाएनन्। 

माथागढीमा टिपर दुर्घटना : तीन जनाको मृत्यु, एक जना गम्भीर घाइते

पाल्पाको माथागढी गाउँपालिका–७ झडेवासस्थित कच्ची सडक खण्डमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

शनिबार साँझ करिब ६ बजे झडेवाबाट चुँदुङ्गा खानीतर्फ जाँदै गरेको लु २ ख ४५५ नम्बरको खाली टिपर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

दुर्घटनामा चालक अर्घाखाँचीको सितगंगा नगरपालिका–४ बस्ने २६ वर्षीय चिन्ता बहादुर सुनारसहित अन्य दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य मृतक दुई जनाको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको छ।

दुर्घटनामा तानसेन नगरपालिका–१० पटुवा बस्ने ३३ वर्षीय राजन चिदी गम्भीर घाइते भएका छन्। घाइतेलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकोमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं महानगरपालिका–१२, भोटेबहाल क्षेत्रमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ।कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको बागमती प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसले ठक्कर दिँदा ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाह गम्भीर घाइते भएका थिए।

घाइते दुवैजनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकोमा उपचारकै क्रममा गएराति मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। दुर्घटनामा संलग्न बसचालक दोलखा घर भई हाल कपन बस्दै आएका ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बालेन शाह भन्छन् - सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाहले सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्ने बताएका छन्।शनिबार उनले सामाजिक सञ्जाल फेसबुकमा इद उल फित्रको अवसरमा शुभकामना दिँदै धर्म, संस्कृति र विविधताको सम्मान गर्दै, सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्ने बताएका हुन्। 

उनले भनेका छन्, ‘धर्म, संस्कृति र विविधताको सम्मान गर्दै सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ।’ इदले भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनाओस् भन्दै  इद पर्वको शुभकामना दिएका छन्।

सुझावित समाचार