जय ट्रफीमा उत्कृष्ट प्रदर्शन गर्ने ब्याट्सम्यान र बलर

शनिबार, ७ चैत, २०८२
डिजिटल संस्करण

नेपाल क्रिकेट संघ (क्यान)ले १०औँ आइसिसी टी–२० विश्वकप सकिएलगत्तै घरेलु खेलाडीलाई व्यस्त बनाउन जय ट्रफी कप आयोजना गर्यो । क्यानको पूर्वखेलतालिकाअनुसार ८ देखि १९ फागुनसम्म त्रिवि क्रिकेट तथा मूलपानी क्रिकेट मैदानमा प्रतियोगिता भएका थिए । निर्वाचनका कारण फाइनल खेल चैतमा सारियो । दुईदिवसीय जय ट्रफीमा गत वर्ष सम्पन्न भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेका चार टोलीबिच प्रतिस्पर्धा भएको थियो । गत वर्ष नेपाल पुलिस, त्रिभुवन आर्मी, नेपाल एपिएफ र बागमती प्रदेशले अन्तिम चार स्थान बनाएका थिए । लिग चरणमा शीर्ष दुई स्थानमा रहेका नेपाल पुलिस र आर्मीबिच फाइनल भयो । क्यानले उपाधि भिडन्त भने तीन दिवसीय बनाएको थियो । पुलिसले आर्मीलाई चार विकेटले हराउँदै उपाधि रक्षा गर्यो । तीन सातासम्म चलेको प्रतियोगितामा सर्वाधिक रन र विकेट लिने समान पाँच खेलाडी यस्ता छन् । 

सर्वाधिक रन

कुशल भुर्तेल (पुलिस) : ४ खेल, ७ इनिङ्स, रन ३३६
दोस्रो संस्करणको जय ट्रफीमा साबिक विजेता नेपाल पुलिसका कुशलको ब्याटिङ राम्रो चल्यो । मूलपानी मैदानमा कुशलले संयमित हुँदै प्रतिस्पर्धा गरेका थिए । उनले चार खेलमा सात इनिङ्समा ब्याटिङ गरी प्रतियोगिताकै सर्वाधिक तीन सय ३६ रन बनाए । यस क्रममा उनले तीन अर्धशतकीय इनिङ्स खेलेका थिए । लिग चरणमा कोशी प्रदेशविरुद्ध कुशलले व्यक्तिगत सर्वाधिक ९६ रन जोड्दा शतक लगाउन चार रनले मात्र चुकेका थिए । जय ट्रफीमा चार सय २८ बल सामना गरेका उनले ३९ चौका र ६ छक्का प्रहार गरेका थिए । उनी एकपटक नटआउट रहे । उनको स्ट्राइक रेट ७८.५० रहेको छ । कुशलले फाइनलको दोस्रो इनिङ्समा आर्मीविरुद्ध महत्व पूर्ण ५१ रन बनाएका थिए । 

ईशान पाण्डे (बागमती) : ३ खेल, ६ इनिङ्स, रन ३३१
सन्दीप लामिछानेको कप्तानीमा रहेको बागमती प्रदेश लिग चरणबाटै बाहिरिएको थियो । तर, बागमतीका ईशान प्रतियोगिताकै उत्कृष्ट ब्याट्सम्यान बने । उनले तीन खेलमा ६ इनिङ ब्याटिङ गरेका थिए । प्रतियोगितामा उनले दोस्रो सर्वाधिक रन बनाए । यसक्रममा उनले चार सय ७८ बल सामना गरी तीन सय ३१ रन जोडेका थिए । ईशानले तीन अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले बागमती प्रदेशविरुद्ध व्यक्तिगत सर्वाधिक ८४ रन जोडेका थिए । ईशानले समग्रमा ३७ चौका र ६ छक्का प्रहार गरेका थिए । दोस्रो संस्करणमा ईशानले ६६.२० को औसतमा ब्याटिङ गरे । एकपटक नटआउट रहेका उनको ६९.२४ को स्ट्राइक रेट रह्यो । 

रोहित पौडेल (एपिएफ) : ३ खेल, ६ इनिङ्स, रन २७९
राष्ट्रिय टोलीका समेत कप्तान रहेका रोहित धेरै रन बनाउने सूचीको तेस्रो स्थानमा रहे । तीन खेलमा ६ इनिङ्स ब्याटिङ गरेका रोहितले दुई सय ७९ रन जोडेका थिए । उनले यसक्रममा दुई अर्धशतकीय इनिङ्स खेलेका थिए । जय ट्रफीमा उनको उत्कृष्ट ब्याटिङ प्रदर्शन बागमतीविरुद्ध रह्यो, जसमा उनले पहिलो इनिङ्समा ८७ रन तथा दोस्रोमा ५६ रन जोडेका थिए । यसैगरी, आर्मीसँगको खेलमा उनले ४८ रन र ३५ रन जोडेका थिए । रोहितको औसत ६९.७५ र स्ट्राइक रेट ८०.१७ रह्यो । रोहितले समग्रमा दुई अर्धशतकीय इनिङ्स खेल्दा ३५ चौका र दुई छक्का प्रहार गरेका थिए ।

भीम सार्की (आर्मी) : ४ खेल, ८ इनिङ्स, रन २६६
लगातार दोस्रोपटक आर्मीले फाइनल स्थान बनाउँदा मध्यक्रमका भीमबाट गतिलो साथ पाएको थियो । प्रतियोगितामा उनी चौथो सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन् । उनले चार खेलमा आठ इनिङ्स ब्याटिङ गरी दुई सय ६६ रन जोडेका थिए । उनको औसत ४४.३३ र स्ट्राइक रेट ८४.७१ थियो । लिग चरणमा उनले एपिएफविरुद्ध अविजित एक सय पाँच रनको योगदान दिएका थिए । प्रतियोगितामा उनले एक अर्धशतक पनि प्रहार गरेका थिए । उनले ३१ चौका तथा पाँच छक्का प्रहार गरे । बागमीतविरुद्ध खेलमा उनले ७१ रन जोडेका थिए ।

दीपक बोहरा (एपिएफ) : ३ खेल, ६ इनिङ्स, रन २२५
उपाधि दाबेदार मानिएको नेपाल एपिएफ लिग चरणबाटै बाहिरिए पनि व्यक्तिगत प्रदर्शनमा खेलाडीहरू अब्बल रहे । प्रतियोगितामा पाँचौँ सर्वाधिक रन बनाउने खेलाडीमा एपिएफकै दीपक हुन् । तीन खेलमा ६ इनिङ्स ब्याटिङ गरेका उनले दुई सय २५ रन बनाए । दीपकले ७३.०५ को स्ट्राइक रेट तथा ३७.५० को औसतमा ब्याटिङ गरेका थिए । उनको सर्वाधिक व्यक्तिगत ९४ रन रह्यो । प्रतियोगितामा उनले २४ चौका र सात छक्का प्रहार गरेका थिए ।

सर्वाधिक विकेट 

ललित राजवंशी (पुलिस) : खेल ४, इनिङ्स ८, विकेट २६
पुलिसले उपाधि रक्षा गर्दा स्पिनर ललितको प्रदर्शन प्रमुख मान्न सकिन्छ । यसै दोस्रो जय ट्रफीमै उनले ५० विकेट पूरा गरेका थिए । जय ट्रफीमा ५० विकेट लिने उनी पहिलो बलर हुन् । समग्रमा उनले दोस्रो संस्करणमा चार खेलमा आठ इनिङ्स बलिङ गरी सर्वाधिक २६ विकेट हात पारे । ललितले कुल १६७.३ ओभर बलिङ गरेका थिए । यसपटक उनले आफ्नो इकोनोमी ३.०९ राखेका थिए । प्रतियोगितामा धेरै मेडन फ्याँक्ने बलर उनी नै हुन् । उनले समग्रमा ३९ मेडन ओभर गरेका थिए । उनको उत्कृष्ट प्रदर्शन एपिएफविरुद्ध रह्यो । जसमा उनले ८० रन खर्चेर पाँच विकेट हात पारे । प्रतियोगितामा ललितले दुईपटक पाँच तथा एकपटक चार विकेट लिए । यसै प्रदर्शनका कारण उनी प्रतियोगिताकै सर्वाधिक विकेट लिने बलर बने ।

सागर ढकाल (पुलिस) : खेल ४, इनिङ्स ८, विकेट १६
यसपटक पुलिसका बलरहरूले प्रतियोगिताभरि नै उत्कृष्ट प्रदर्शन गर्न सफल रहे । विशेषत: फाइनलमा आर्मीसँगको खेलमा उसका सिमर तथा स्पिनर चलेका थिए । पुलिसका सागर सर्वाधिक विकेट लिने सूचीको दोस्रो स्थानमा छन् । उनले आठ इनिङ्समा १६ विकेट हात पारे । सागरले १२ मेडन ओभर गरेका छन् । उनले इकोनोमी ३.४६ राखी बलिङ गरेका थिए । उनले आर्मी क्लबविरुद्ध ९२ रन दिएर ६ विकेट लिएका थिए ।

करण केसी (पुलिस) : खेल २, इनिङ्स ४, विकेट ११
जय ट्रफीमा धेरै विकेट लिने सूचीको शीर्ष तीन स्थानमा पुलिसका करण छन् । तेस्रो स्थानमा फास्ट बलर उनी रहे । उनले चार इनिङ्स बलिङ गरी ११ विकेट हात पारे । समग्रमा उनले ५९.२ ओभर बलिङ गरी १० मेडन राखेका थिए । करणको इकोनोमी ३.२१ रह्यो । उनले बागमती प्रदेशविरुद्ध २७ रन मात्रै खर्चेर चार विकेट लिएका थिए । करणले १७.३७ औसतमा बलिङ गरेको देखिन्छ ।

नरेन साउद (आर्मी) : खेल ४, इनिङ्स ६, विकेट ११
प्रतियोगिताको उपविजेता आर्मीका नरेन चौथो धेरै विकेट लिने बलर हुन् । नरेनले चार खेलमा ६ इनिङ्समा ११ विकेट लिएका छन् । यसक्रममा उनले ५७ ओभर बलिङ गरी इकोनोमी ३.५२ राखे । दोस्रो संस्करणमा नरेनले आठ मेडन ओभर बलिङ गरे । लिग चरणमा उनले एपिएफविरुद्ध उत्कृष्ट बलिङ स्पेल गरे । दोस्रो इनिङ्समा उनले ७९ रन खर्चेर पाँच विकेट हात पारेका थिए ।

साहब आलम (आर्मी) : खेल ४, इनिङ्स ८, विकेट ११
पहिलो संस्करणमा साहब सर्वाधिक विकेट लिने सूचीमा थिए । यसपटक भने साहब पाँचौँ स्थानमा सीमित भएका छन् । इकोनोमी रनरेट आधारमा उनी पाँचौँ स्थानमा रहेका हुन् । उनले आठै इनिङ्स बलिङ गरी ११ विकेट हात पारे । उनको इकोनोमी २.५६ रन रह्यो । पहिलो तथा दोस्रो जय ट्रफीमा गरी उनले ४२ विकेट लिइसकेका छन् । ललितको कीर्तिमान बराबरी गर्न उनलाई आठ विकेट आवश्यक छ । साहबले १३४.१ ओभर बलिङ गर्दा २५ मेडन गरेका थिए । 
 

सुझावित समाचार