आठौँ बुटवल खुला राष्ट्रिय लनटेनिस प्रतियोगिताको तयारी

शुक्रबार, ६ चैत, २०८२
डिजिटल संस्करण

आठौँ बुटवल खुला राष्ट्रिय तथा चौथो मेयर कप लनटेनिस प्रतियोगिता २०८२ तयारी पूरा भएको छ । रुपन्देही लनटेनिस संघको आयोजनामा चैत १६ गतेदेखि २० गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन् ।

शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी आयोजक संघका अध्यक्ष विष्णुप्रसाद चापागाईंले देवीनगरस्थित टेनिस कोर्ट मर्मत, रंगरोगन, खेलाडीहरूलाई पत्राचारलगायतका सबै काम सकिएको बताए । लनटेनिस खेलको विकास, प्रवर्द्धन, नयाँ युवा खेलाडीहरूलाई अवसर प्रदान गर्ने उद्देश्यका साथ विगतबाट निरन्तर प्रतियोगिता आयोजना हुँदै आएको उनले बताए ।

प्रतियोगितामा देशभरका दुई सयभन्दा बढी पुरुष तथा महिला खेलाडीहरूको सहभागिता रहनेछ । नेपालका वरीयताक्रमका खेलाडीहरूले प्रतियोगितामा भाग लिने उनले बताए । बुटवल लनटेनिस क्लबको आयोजनामा ०५७ सालदेखि काठमाडाैंबाहिर बुटवलमा राष्ट्रियस्तरको प्रतियोगिता सुरु हुँदै आएको उनले बताए । प्रतियोगिताले यस क्षेत्रमा लनटेनिस खेलका लागि भौतिक संरचनाको थप विकास र पर्यटन प्रवर्द्धनमा समेत योगदान मिल्ने उनले बताए ।

कार्यक्रममा द्वितीय उपाध्यक्ष अनिल सेन्चुरीले खेल विकासमा यस क्षेत्रका खेलाडी, स्थानीय पालिकाबाट निरन्तर सहयोग हुँदै आएको बताए ।  प्रतियोगिताका खेलहरू नेपाल लनटेनिस संघको स्वीकृति र अन्तर्राष्ट्रिय खेल नियम तथा मापदण्डअनुसार सञ्चालन गरिने उनले बताए ।

प्रतियोगितामा पुरुष तथा महिला एकल र डबलतर्फ कुल ११ विधामा प्रतिस्पर्धा हुने संघका सचिव मनोज नेपालले बताए । जसमा एकलतर्फ पुरुष–महिला, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लस गरी ६ विधा रहेका छन् भने डबलतर्फ पुरुष डबल्स, महिला डबल्स, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लस गरी पाँच विधा गरी कुल ११ विधा रहेका छन् । जसमा एकलतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद, कप, पदक र प्रमाणपत्र प्रदान गरिनेछ । डबलतर्फ पहिलो र दोस्रो हुनेलाई मात्र पुरस्कारको व्यवस्था गरिएको उनले बताए । प्रतियोगिता सम्पन्न गर्नका लागि कुल रु. २६ लाख ६७ हजार पाँच सय रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले बताएका छन् । 

सुझावित समाचार