लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु

शुक्रबार, ६ चैत, २०८२
डिजिटल संस्करण

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एमआरआई सेवाको शुभारम्भ गरिएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अस्पतालको १६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उक्त सेवाको शुभारम्भ गर्दै अस्पताललाई थप उचाइमा पुर्याउन प्रतिष्ठानको रूपमा विकास गर्न पहल भइरहेको बताए।

विशिष्ट र विशिष्टीकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच थप सुनिश्चित गर्न प्रतिष्ठानको अवधारणा अघि सारिएको उनले बताए। शुक्रबार बुटवलमा आयोजित वार्षिकोत्सव उद्घाटन कार्यक्रममा उनले सबै प्रकारका रोगको उपचार सम्भव हुने गरी अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताए।

‘प्रादेशिक अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गरेर लैजाने योजना छ। त्यसमा हामीले ध्यान दिएका छौँ,’ उनले भने, ‘यसलाई नमुना अस्पतालका रूपमा विकास गर्न प्रदेश सरकारले काम अघि बढाएको छ। सबैको साझा प्रयासबाट आमूल परिवर्तन सम्भव भएको छ। समन्वय र सहकार्यकै कारण अस्पताल यहाँसम्म आइपुगेको हो।’

प्रदेश सरकारले सेवा विस्तारलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले सेवाग्राहीले सस्तो र सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताए। उनले भने, ‘एक हजार दुई सय शय्याको अस्पताल निर्माणको काम अघि बढेको छ। २१ महिनाको अवधिमा ४० प्रतिशत भौतिक प्रगति भएको छ। तीन वर्षभित्र सबै सेवा नयाँ भवनबाट सञ्चालन गर्ने योजना छ।’

कार्यक्रममा स्वास्थ्यमन्त्री खेमबहादुर सारूले लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशकै गौरव भएको उल्लेख गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने गरी काम भइरहेको बताए।
यसैगरी, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल, स्वास्थ्यसचिव दुर्गालक्ष्मी श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखे।

अस्पतालका सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले अस्पतालको प्रगति र भावी योजनाबारे जानकारी दिएको कार्यक्रममा अवकाश प्राप्त कर्मचारीहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा पूर्वमेडिकल सुपरिटेन्डेट डा. राजेन्द्र खनाल, पूर्वलेखा अधिकृत मित्रलाल त्रिपाठी, पूर्वनर्सिङ प्रमुख प्रभा ज्ञवालीलाई विशेष सम्मान गरिएको थियो।

साथै २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो। यसैगरी लुम्बिनी प्रदेशका स्वास्थ्यसचिव तथा पूर्वनर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो। अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण अस्पतालका प्रशासन प्रमुख प्रेम गौतमले गरेका थिए।

सुझावित समाचार