प्रधानमन्त्री सुशीला कार्कीले महोत्तरीस्थित गौशालाको निरीक्षण गरेकी छिन्। प्रधानमन्त्री बनेपछि पहिलोपटक महोत्तरी पुगेकी प्रधानमन्त्री कार्कीले शुक्रबार गौशाला नगरपालिका– ३, नवराजपुरमा रहेको निगौल गौशालाको निरीक्षण गरेकी हुन्।
गौशालामा रहेका गाईवस्तुको दुरवस्थाबारे विभिन्न समयमा आवाज उठ्दै आइरहेको समयमा प्रधानमन्त्री कार्कीले गौशालाको निरीक्षणपछि श्वास हुने जुनसुकै जीवको रक्षा गर्नु मानव कर्तव्य रहेको बताइन्।
उनले गाईलाई जोगाएर रोजगारीसँग जोडेर राम्रो अवसरको सिर्जना गर्न सकिने उल्लेख गर्दै गाईको रक्षा गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘हिन्दुधर्ममा चरा, मुसालगायतका श्वास हुने सम्पूर्ण जीवजन्तुलाई पूजा गर्ने परम्परा छ। त्यसमा पनि गाईलाई त हामी आमाजस्तै पूजा गर्छौँ । त्यसैले गाईको शोषण हुनुहुँदैन । त्यसतर्फ सचेत हुनुपर्छ।’