सशस्त्र प्रहरी बल नेपाल पर्साले स्रोत खुल्न नसकेको २० लाख अवैध रकम हुन्डीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका– १७, अलौनिवासी ५० वर्षीय विनयशंकर साह तुरहा रहेका छन् । शुक्रबार बिहान ११ बजेको समयमा वीरगन्ज महानगरपलिका– १६ स्थित भन्सारको मेनगेटमा बिआर ०५ बिके ८६०३ नम्बरको मोटरसाइकललाई चेक गर्ने क्रममा तुरहा पक्राउ परेको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।
उनका अनुसार तुरहा मोटरसाइकलको सिट कभरमुनि प्लास्टिकमा प्याक गरी लुकाइछुपाइ ल्याउँदै गरेको अवस्थामा अवैध रकमसहित पक्राउ परेका हुन् । उनको साथबाट नेपाली रकम एक हजार दरको एक हजार ३०२ थान, पाँच सय दरको एक हजार चार सय थान, ५० दरको एक थान र भारतीय रकम एक सय दरको ६ थान बरामद भएको निरौलाले बताए ।
यस्तै, सामसुङ ग्यालेक्सी ए १५ मोडलको मोबाइल एक थान र वीरगन्ज भन्सार एजेन्ट संघ पर्सा लेखिएको तुरहाको परिचयपत्र बरामद भएको उनले बताए । अवैध रकमसहित पकाउ परेका तुरहालाई केहीबेर अगाडि भन्सार कार्यालयमा आवश्यक कारबाहीका लागि बुझाइएको निरौलाले बताए ।