लुम्बिनीमा तीनदिने अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु

महोत्सवले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्रका रूपमा स्थापित गर्ने विश्वास , लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारकल लामा

शुक्रबार, ६ चैत, २०८२
डिजिटल संस्करण

चिनियाँ दूतावासको संयोजनमा बुद्ध जन्मस्थल लुम्बिनीमा तीनदिने ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव–२०२६’ सुरु भएको छ।  विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यसहित आयोजना गरिएको महोत्सवमा विभिन्न सांस्कृतिक, आध्यात्मिक तथा खेलकुद कार्यक्रमहरू समावेश गरिएका छन्। महोत्सवको पूर्वसन्ध्यामा बिहीबार साँझ आयोजित स्वागत कार्यक्रममा महोत्सवको उद्देश्यबारे जानकारी दिइएको थियो।

बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिन हुने कार्यक्रममा शुक्रबार मायादेवी मन्दिरनजिकै ‘लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवस’ कार्यक्रम आयोजना गरिनेछ । यस कार्यक्रममा विश्वभरका ध्यान अभ्यासकर्ता, बौद्ध धर्मावलम्बी तथा शान्तिप्रेमीहरू सहभागी हुने तय गरिएको छ । त्यसैगरी, शुक्रबार साँझ ५:३० देखि ७: ३० बजेसम्म ‘लुम्बिनी पिस कन्सर्ट’ कार्यक्रम लुम्बिनी स्क्वायर थिएटरमा राखिएको छ। कन्सर्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको सहभागिता रहनेछ । महोत्सवको अन्तिम दिन शनिबार बिहान ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन’ आयोजना गरिने भएको छ। 

म्याराथन पवित्र उद्यान क्षेत्रमै सञ्चालन हुनेछ। यसमा देश–विदेशका धावकहरूको सहभागिता रहने जनाइएको छ। महोत्सवले पनि धार्मिक पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । महोत्सवको पूर्वसन्ध्यामा आयोजित स्वागत कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारकल लामाले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्रका रूपमा थप स्थापित गर्ने विश्वास व्यक्त गरे । यस्ता कार्यक्रमले नेपाललाई विश्व पर्यटन नक्सामा अझ सशक्त रूपमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले अहिले विश्वभरमै शान्तिको खोजी भइरहेकाले लुम्बिनीबाट त्यसको सन्देश दिने गरी कार्यक्रम आयोजना गरिएको जनाए । मानव कल्याणको केन्द्र बनाउन पनि आवश्यक रहेको बताए। नेपालका लागि चिनियाँ राजदूत चाङ माओसिङले विश्वभर बढ्दै गइरहेको द्वन्द्वले शान्तिको खोजी भएको बताउँदै बुद्ध जन्मस्थलबाट सबैले त्यसको कामना गर्ने र सन्देश दिने गरी कार्यक्रम आयोजना गरिएको बताए। विकास, सुरक्षा र शान्तिका लागि नेपालसँग सधैँ सहकार्य गरिरहेको बताउँदै आगामी दिनमा त्यसलाई निरन्तरता दिने उनले बताए  । 

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले चीनमा सबैभन्दा धेरै बौद्धमार्गी भएकाले पनि लुम्बिनीसँग यसको गहिरो सम्बन्ध रहेको बताए। लुम्बिनीसँगै कपिलवस्तु, देवदह, रामग्रामसहितका बुद्धिष्ट केन्द्रहरूलाई ध्यानमा राखेर ओलम्पिक कमिटीले निरन्तर कार्यक्रम गरिरहेको सो अवसरमा उनले बताए।

सुझावित समाचार