रौतहटमा वृक्षरोपण प्रतियोगितामा हरियाली सामुदायिक वन प्रथम

शुक्रबार, ६ चैत, २०८२
डिजिटल संस्करण

रौतहटको चन्द्रपुर र गुजरा नगरपालिकामा सञ्चालित जलवायु जोखिम न्यूनीकरण परियोजनाअन्तर्गत आयोजित वृक्षरोपण प्रतियोगितामा चन्द्रपुर– २ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा चन्द्रपुरका नाै र गुजरा नगरपालिकाको एक गरी कुल १० सामुदायिक वन समूहले भाग लिएका थिए ।

अक्सफाम नेपाल र ग्रामीण विकास केन्द्र नेपालको संयुक्त साझेदारीमा सञ्चालित ‘जलवायु जोखिम तथा संकटापन्नताका लागि सामुदायिक उत्थानशील परियोजना’अन्तर्गत आयोजित प्रतियोगिता ५ जुन २०२५ (विश्व वातावरण दिवस) देखि सुरु भएको थियो। सहभागी समूहहरूले १९.५ हेक्टर खाली र बाँझो जमिन, नदीले छोडेका क्षेत्र तथा वनविहीन भूभागमा ३१,०१५ बिरुवा रोपी वृक्षरोपण गरेका थिए । वृक्षरोपणले वातावरणमा हरियाली वृद्धि, कार्बनडाइअक्साइड अवशोषण, माटो क्षय नियन्त्रण, पानी स्रोत संरक्षण र जैविक विविधता संरक्षणमा सहयोग पुर्याउने बताइएको छ ।

मूल्यांकन समितिको मूल्यांकनमा हरियाली सामुदायिक वनले ७६ अंक प्राप्त गर्दै प्रथम स्थान पाएको हो। सखुवानी सामुदायिक वन ५८ अंकसहित द्वितीय र चन्द्रपुर– ४ स्थित जनएकता सामुदायिक वन ५७ अंकसहित तृतीय भएका छन्। प्रथम हुने हरियाली सामुदायिक वनलाई करिब एक लाख रुपैयाँबराबरको सामग्री, जसमा टेबल, अफिस कुर्सी, ३५ अतिथि कुर्सी र एक सेट सोफा प्रदान गरिएको छ। द्वितीय सखुवानी सामुदायिक वनले करिब ५० हजार रुपैयाँबराबरको कम्प्युटर सेट प्राप्त गरेको छ भने तृतीय जनएकता सामुदायिक वनलाई २६,८५० रुपैयाँबराबरको चस्मा, गमबुट र कुर्सी प्रदान गरिएको छ ।

पुरस्कार वितरण कार्यक्रममा ग्रामीण विकास केन्द्र नेपालका कार्यकारी निर्देशक आशिषकुमार सिंहको अध्यक्षता रहेको थियो । डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साह प्रमुख अतिथि थिए। अक्सफाम नेपालका प्रतिनिधि विवेक कार्की, मूल्यांकन समितिकी संयोजक महालक्ष्मी शर्मा, फेकोफन, चन्द्रपुर नगरपालिका तथा सामुदायिक वन प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै हरियाली सामुदायिक वनका अध्यक्ष धनप्रसाद प्रसाईंले वन सरसफाइ र वृक्षरोपण सामुदायिक वनको प्रमुख दायित्व भएको बताउँदै पुरस्कारले समूहलाई थप उत्साहित बनाएको बताए । उनले यस्ता कार्यक्रमले समुदायलाई वातावरण संरक्षणप्रति सचेत बनाउने, हरियाली प्रवर्द्धनमा प्रतिस्पर्धात्मक भावना विकास गर्ने र भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माणमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । प्रतियोगितामा सहभागी १० वटै सामुदायिक वनका पदाधिकारीहरूलाई सम्मानसमेत गरिएको थियो ।

सुझावित समाचार