निर्वाचन स्थगित गर्न एन्फालाई राखेपको तेस्रोपटक निर्देशन

शुक्रबार, ६ चैत, २०८२
डिजिटल संस्करण
  • निर्वाचनसम्बन्धी कुनै पनि कार्यक्रम अगाडि नबढाउन राखेपले निर्देशन दिए पनि बिहीबार नै एन्फाका सिइओ इन्द्रमान तुलाधरले सबै प्रतिनिधिलाई साधारणसभामा सहभागी हुन आह्वान गरेका छन्

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तेस्रोपटक पत्र काट्दै अखिल नेपाल फुटबल संघ (एन्फा)को १३ चैतमा झापामा हुने केन्द्रीय कार्यसमितिको निर्वाचन स्थगित गर्न निर्देशन दिएको छ । राखेपको संघ–संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले बिहीबार एनफालाई पत्र पठाउँदै राज्यको स्वीकृतिविना हुन लागेको निर्वाचन स्थगित गरी तीन दिनभित्र राखेपलाई जानकारी गराउन भनेका छन् । राखेपले पत्र काटेको दिनै (बिहीबार) एन्फाका सिइओ इन्द्रमान तुलाधरले साधारणसभाको कार्यतालिका सबै सदस्यलाई पठाएका छन् । ४९ जिल्लासहित सबै क्लब र पदाधिकारीलाई साधारणसभामा उपस्थित हुन उनले आह्वान गरेका छन् । 

निर्वाचनको विषयमा राखेपसँग समन्वय नगरी पटक–पटक निर्वाचनसम्बन्धी तालिका प्रकाशन गरिएको जानकारी प्राप्त भएपछि निर्वाचन स्थगन गर्न निर्देशन दिएको राईले बताए । ‘राखेपले एन्फालाई विगतमा पनि निर्वाचन स्थगन गर्न निर्देशन दिएको थियो । त्यसको पालना नगरेको पाइएको छ,’ राईले भने, ‘यसपटक एन्फाले जबर्जस्ती चुनाव गरे पनि मान्यता पाउनेछैन ।’ निर्देशनको पालना नगरी निर्वाचन प्रक्रिया अगाडि बढाए कारबाही हुने चेतावनी उनले दिएका छन् । राखेपले एन्फालाई काटेको पत्रमा खेलकुद मन्त्रालय, सबै प्रादेशिक मन्त्रालय र सातवाटै प्रदेश खेलकुद विकास परिषद्लगायतलाई बोधार्थ दिएको छ ।

जिल्ला र प्रदेशविना केन्द्रको निर्वाचन गराउँदै
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले जिल्ला र प्रदेशको निर्वाचनविनै एन्फा निर्वाचन गराउँदै छन् । नेतृत्व पक्षको निर्णयविरुद्ध उच्च अदालत पाटन, खेलकुद मन्त्रालय र राखेपमा असन्तुष्ट पक्षहरूले उजुरी दिएका छन् । नेम्वाङको कार्यकाल आगामी ६ असारमा सकिँदै छ । आफ्नै प्यानलबाट निर्वाचित पदाधिकारीसँग मनमुटाव र कार्यसम्पादन कमजोर देखिएपछि नेम्वाङको कार्यकाल विवादास्पद बनेको छ । एन्फाको संस्थापन पक्षले एकलौटी निर्णय गरेपछि पछिल्लो समय खेलाडी र क्लबका पदाधिकारीले एन्फा मुख्यालयमै तालासमेत लगाएका छन् । 

राखेपले जिल्ला र प्रदेशको निर्वाचनसहित विधानमा ११ बुँदा संशोधन गरेर मात्रै निर्वाचन गर्न निर्देशन दिएको थियो । जिल्ला संघका पदाधिकारी आफ्नो अधिकार हनन भएको भन्दै उच्च अदालत पाटन पुगेका थिए । अदालतले समेत प्रक्रिया पूरा गरेर मात्रै निर्वाचन गर्न एन्फालाई अन्तरिम आदेश दिएको थियो । 

एन्फाले २८ माघमा अर्ली इलेक्सन गर्ने निर्णय गरेको थियो । तर, उच्च अदालत पाटनको आदेशपछि एन्फाले २८ फागुनमा निर्वाचनको मिति घोषणा गर्यो । प्रतिनिधिसभा निर्वाचनका कारण निर्वाचन आयोगले एन्फालाई तत्काल कार्यक्रम रोक्न निर्देशन दियो । त्यसपछि १३ चैतमा निर्वाचन हुने अर्को मिति सार्वजनिक गरियो । एन्फाले निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा गरेको छ । अध्यक्षमा नेम्वाङ र वर्तमान उपाध्यक्ष दीर्घबहादुर केसीबिच प्रतिस्पर्धा हुँदै छ ।

अध्यागमनको पत्रपछि लिग स्थगित

  • पुरुष तथा महिला लिगमा पर्यटन भिसामा आएका विदेशी खेलाडीले गैरकानुनी रूपमा खेलेको उजुरीमाथि अध्यागमन विभागले छानबिन थालेकाले एन्फाले प्रतियोगिता स्थगित गरेको छ

अध्यागमन विभागले पर्यटक भिसामा नेपाल प्रवेश गरेका खेलाडीले श्रम स्वीकृतिविना फुटबल खेलेको भेटिएपछि बिहीबार एन्फालाई पत्र काटेको छ । अध्यागमनको पत्रपछि एन्फाले तत्कालै पुरुषतर्फको राष्ट्रिय लिग तथा सहिद स्मारक महिल लिगसमेत अनिश्चितकालीन स्थगित गरेको छ । महिला लिग बुधबारदेखि मात्र सुरु भएको थियो । जसमा चार खेल भएका छन् । पुरुषतर्फको राष्ट्रिय लिगमा ९९ खेल भएका छन् । 

‘एन्फाको आयोजनामा गत ३० पुसदेखि भइरहेको राष्ट्रिय लिग प्रतियोगिताअन्तर्गत ९७ र १०० देखि १३६ का खेलहरू प्राविधिक कारण अर्को सूचना प्रकाशन नभएसम्म स्थगित गरिएको छ,’ एन्फाका सिइओ तुलाधारले भनेका छन् । राष्ट्रिय लिगमा तीन विभागीयसहित काँक्रेबिहार र नवजनजागृति युवा क्लबले मात्र विदेशी खेलाडी अनुबन्ध गरेका छैनन् । चित्लाङ एफसीले विदेशी खेलाडीको हकमा श्रम स्वीकृति लिएको छ । जावलाखेल युथ, मच्छिन्द्र, मनाङ मस्र्याङ्दी, चर्च ब्वाइज, सातदोबाटो युथ, संकटा र श्री भगवती क्लबले विदेशी खेलाडीको श्रम स्वीकृति लिएका छैनन् । 

‘अध्यागमन नियमावली, २०५१ को नियम २० मा भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यका लागि भिसा प्राप्त गरेको हो, सोबाहेक अन्य काम गर्न पाउनेछैन भन्ने स्पष्ट व्यवस्था रहेको व्यहोरा छ । राष्ट्रिय महिला र पुरुष लिग फुटबल खेलमा सहभागी भएका फुटबल क्लबहरूले पर्यटक भिसा लिएका विभिन्न मुलुकका विदेशी खेलाडीहरूलाई नियमानुसार कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउनुहुन अनुरोध छ,’ अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले भने । विभागले बिहीबारदेखि अनुगमन प्रारम्भ भएको र स्वीकृति नलिएका विदेशी खेलाडी भिसाको उद्देश्यविपरीत कुनै पनि खेलमा सहभागी भएको पाइएमा तत्काल कारबाही अगाडि बढाइने जनाएको छ । 

See More On

सुझावित समाचार