नेपाल पुलिस क्लबले जय ट्रफी क्रिकेटको उपाधि रक्षा गरेको छ । मूलपानी क्रिकेट मैदानमा पुलिसले बिहीबार उपाधि रक्षा गर्ने क्रममा त्रिभुवन आर्मी क्लबलाई चार विकेटले पराजित गर्यो । आर्मीले जितका लागि २२७ रन प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याएको इनिङ्सको ५६.४ ओभरमा पुलिसले ६ विकेट गुमाएर २३० रन जोड्दै उपाधि रक्षा गरेको हो । गत संस्करणमा पनि पुलिसले आर्मीलाई हराएको थियो ।
दोस्रो संस्करणमा पनि च्याम्पियन बनेको पुलिसले लक्ष्य पछ्याउँदा रसिद खानले ८१ तथा कुशल भुर्तेलले ५१ रनको अर्धशतकीय योगदान दिए । रसिद र कुशलले तेस्रो विकेटका लागि ९४ रनको साझेदारी गर्दै जितको आधार खडा गरेका थिए । उनीहरूले १५.४ देखि ४०.१ ओभरसम्म ब्याटिङ गरी टोलीलाई ७१–२ बाट १६५–३ को स्थितिमा राखे । रसिदले १२८ बलमा आठ चौका र तीन छक्का प्रहार गरे । कुशलले ६४ बलमा पाँच चौका प्रहार गरेका थिए ।
यसैगरी दिलसाद अलीले ५७ बलमा चार चौका र एक छक्का प्रहार गरी ३१ रनको नटआउट योगदान दिए । तेस्रो सत्रमा आर्मीका लागि पवन कार्की र साहब आलमले समान दुई विकेट हात पारे । आकाश चन्द र भीम सार्कीले समान एक लिए । । यसअघि आर्मी र पुलिस दुवैले पहिलो इनिङ्समा समान २२१ रन बनाएका थिए । आर्मीले तेस्रो दिन दिनको खेल १७८/८ बाट सुरु गरेको थियो । थप ४८ रन जोडेपछि आर्मी २२६ रनमा अलआउट भयो । आर्मीका लागि अन्तिम विकेटका लागि आकाश चन्द र सोमपाल कामीबिच महत्वपूर्ण ४९ रनको साझेदारी भएको थियो । आकाशले १०२ बलमा पाँच चौकाको सहयोमगा ३७ रन बनाए । सोमपालले अन्तिमसम्म नआउट भई ७६ बलमा तीन चौका प्रहार गरी २३ रन जोडेका थिए । आर्मीविरुद्धको दोस्रो इनिङ्समा पुलिसका सागर ढकालले १६.२ ओभरमा ४३ रन खर्चेर चार विकेट लिए ।
ललित सर्वोत्कृष्ट र ईशान उत्कृष्ट ब्याट्सम्यान
पुलिसका बलर ललित राजवंशी सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले चार खेलमा आठ इनिङ्स बलिङ गरी सर्वाधिक २६ विकेट लिए । यसैगरी बागमती प्रदेशका ईशान पाण्डे प्रतियोगिता उत्कृष्ट ब्याट्सम्यान घोषित भए । उनले प्रतियोगितामा ६ इनिङमा ६६ को औसतसहित ३३१ रन बनाएका थिए ।
पिएम कप मूलपानीमा हुने
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिवि क्रिकेट रंगशालामा हुने खेलहरू तल्लो मूलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानले त्रिवि मैदानको स्तरोन्नतिका कारण खेल सारिएको जनाएको छ । प्रतियोगिता आगामी ७ चैतदेखि ४ वैशाखसम्म हुनेछ । ‘विश्वकप लिग २ का लागि त्रिवि क्रिकेट मैदानको स्तरोन्नति कार्य गर्नुपर्ने भएको हुँदा मूलपानी मैदानमा पिएम कप हुने व्यवस्था गरिएको छ,’ क्यानले भनेको छ ।