शुक्रबार बस्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने भएको छ। पार्टीको नेतृत्वका लागि उनी नै उपयुक्त पात्र भएको भन्दै पार्टीले अस्वीकार गर्न लागेको हो।
थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए। शर्माले नै राजीनामा अस्वीकृत हुने बताइसकेका छन्।
सामाजिक सञ्जालमार्फत उपसभापति शर्माले डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष दिनु न्यायसंगत नहुने तर्क गरेका हुन्।
सभापति थापाले हालै सम्पन्न निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका छन्। राजीनामा स्वीकृत गर्ने, नगर्नेबारे निर्णयका लागि शुक्रबार १ बजे बैठक बोलाइएको छ।
‘नैतिक जिम्मा लिन्छु भन्नु सकारात्मक । तर, यति बेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो । बैठकमा प्रारम्भिक समीक्षा, राजीनामापत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुनेछ। डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन,’ शर्माले भनेका छन्।
यद्यपि, थापाको राजीनामाबारे पार्टीका प्रवक्तालगायतले भने आफूहरू अनभिज्ञ रहेको बताएका छन्। शुक्रबारको बैठकले उनको राजीनामा अस्वीकृत गरेपछि थापालाई नै पार्टी सभापतिको जिम्मेवारीमा फर्काउने तयारी छ। शुक्रबारको बैठकको सुरुवात भने शर्माको अध्यक्षतामा गर्ने तयारी छ।