सुनसरीको बराहक्षेत्र नगरपालिका चक्रघट्टीमा कार्यरत सब-इन्जिनियर शिवनारायण मण्डलको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको छ। मण्डललाई विशेष अदालतले यस मुद्दामा सजायसमेत सुनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २४ मंसिरमा मण्डलमाथि मुद्दा दर्ता गराएको थियो। नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको अभियोग लगाइएकोमा उक्त अभियोग पुष्टि हुने फैसला भएको छ।
अर्को व्यक्तिको नाममा रहेको प्रमाणपत्रको कोड नं उल्लेख गरी मण्डलले आफ्नो शैक्षिक प्रमाणपत्र लिएको भेटिएको हो। उनले भारतको बिहार राज्यको पटनाबाट माध्यमिक तह उत्तीर्ण गरेको प्रमाणपत्र पेस गरेका थिए।
उनले ०५३ साउनदेखि रा.प. अनंकित द्वितीय श्रेणी सब-ओभरसियर पदमा नियुक्ति लिई काम गरेको देखिएको छ। विशेषका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले यो मुद्दामा फैसला गरेको हो।
विशेषका अनुसार मण्डललाई पाँच हजार रुपैयाँ जरिवाना हुने भएको छ। उनले नियुक्ति लिएको बखत प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार उक्त सजाय सुनाइएको हो।