‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

बिहिबार, ५ चैत, २०८२
डिजिटल संस्करण

डकुमेन्ट्री ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर गरिएको छ। बुधबार साँझ ललितपुरको लबिम मलमा आयोजित प्रिमियर शोमा नेपालीसहित विदेशी दर्शकको समेत उल्लेख्य उपस्थिति थियो। यो डकुमेन्ट्रीमा हिमालयको सबैभन्दा पृथक कुना डोल्पाका दुई आदिवासी महिलाबिचको शक्तिशाली मित्रताको प्रेरणादायी कथा प्रस्तुत गरिएको छ।

सोनम चोकी लामा, बेन आयर्स र एन्ड्रयू लिन्चले निर्देशन गरेको डकुमेन्ट्रीले स्थानीय हिमचितुवा संरक्षणकर्मी छिरिङ ल्हामु लामाले १७ वर्षीया तेन्जिन भुटी गुरुङलाई कसरी मार्गदर्शन गर्छिन् भन्ने यात्रा देखाउँछ। उनीहरू दुबै खतरापूर्ण र सुन्दर हिमालयको भूदृश्य हुँदै दुर्लभ र संकटग्रस्त हिमचितुवाको खोजीमा निस्कन्छन्।

नेपाली फोटोग्राफर सोनम चोयकीले आफ्नी दिदी छिरिङ ल्हामु लामासँग मिलेर हिमचितुवाको खोज तथा संरक्षणको कामलाई आफ्नो दुर्गम मातृभूमिमा कैद गर्न सुरु गरेकी थिइन्, जुन पछि उनको पहिलो वृत्तचित्रका रूपमा विकसित भयो। यो डकुमेन्ट्रीमा विभिन्न अन्तर्राष्ट्रिय सिनेमा महोत्सवका विजेता सिनेमा मेकरहरू बेन आयर्स र एन्ड्रयू लिन्च पनि जोडिए।

यो डकुमेन्ट्रीको कथा बेन आयर्स र एन्ड्रयू लिन्चले लेखेका हुन्। इयान डेभिस, टोर्किल जोन्स, जोआना नतासेगारा र छिरिङ ल्हामु लामाले निर्माण गरेको डकुमेन्ट्रीलाई सोनम चोयकी लामा, एन्ड्रयू लिन्च र रश स्टर्जेसले छायांकन तथा केटी ब्रायरले सम्पादन गरेका हुन्।

यो डकुमेन्ट्रीका कार्यकारी निर्माता ओस्कार विजेता निर्देशक जोआना नतासेगारा र चर्चित हलिउड अभिनेता लियोनार्दो डिकाप्रियो छन्। जसले एक दर्जन बढि अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा पुरस्कार जितिसकेको छ।

सुझावित समाचार