खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्रे सुरु

बिहिबार, ५ चैत, २०८२
डिजिटल संस्करण

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित खानीडाँडाबाट याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार जोड्ने सडकमा कालोपत्रेको काम सुरु गरिएको छ। कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत विनियोजन भएको ३० करोड रुपैयाँ बजेटमा कालोपत्रेको काम सुरु गरिएको हो।

भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत ठेक्का आह्वान गरिएकोमा युएसजी–रक्तकन्या–हिमश्रृङखला जेभी काठमाडौँले रु १७ करोड ३० लाख ८२ हजारमा सम्झौता गरेर काम सुरु गरेको हो। सम्झौताअनुसार बिहीबारदेखि ठीक दुई वर्षभित्र सडक कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले जानकारी दिए।

सम्झौताअनुसार आहालेदेखि याम्खासम्म ८.२ किलोमिटर सडक कालोपत्र गरिने छ। उक्त सडकले खानीडाँडा हुँदै खोटाङको दक्षिणी भेगसँग सिधा सम्पर्क स्थापित गर्ने छ।

कोशी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईले बिहीबार उक्त सडकको शिलान्यास गरेका छन्। खानीडाँडामा आयोजित शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले खोटाङमा विकास निर्माणका काममा ढिलासुस्ती र अलमल्याउने प्रवृत्ति स्वीकार्य नहुने बताए।

पूर्वाधार विकास कार्यालय तथा निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिँदै मन्त्री राईले नागरिकलाई समेत योजना कार्यान्वयनमा निगरानी गर्न आग्रह गरे। यसअघि रसुवा–पाँचधारे सडकमा कालोपत्र कार्य सुरु भइसकेको छ भने खानीडाँडादेखि थामखर्क विमानस्थल जोड्ने अर्को सडकको टेन्डर प्रक्रिया समेत अघि बढेको छ।

ठेकेदार कम्पनीका साइट इन्चार्ज गोविन्द लामिछानेका अनुसार सडक कटिङ, नाली निर्माण, रिटेनिङ पर्खाल, जाली, पाइप तथा कल्भर्ट, सडक ढलान र अस्फाल्ट कालोपत्र यस योजनाको मुख्य काम हो। प्राकृतिक प्रकोप नआएमा आगामी असारअघि नै काम सक्ने योजना रहेको लामिछानेले बताए।

सुझावित समाचार