जल तथा मौसम विज्ञान विभागले शुक्रबार पश्चिम तराई र शनिबार पूर्वी तराईमा भीषण हावाहुरीको चेतावनी दिएको छ। विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार शुक्रबार अपराह्नतिर (१–२ बजेतिर) दाङ, बाँकेको नेपालगन्जसहितका क्षेत्रमा तीव्रगतिको हावा चल्ने देखिएको छ।
शनिबार पूर्व क्षेत्रका विराटनगर, धनकुटा र धरानआसपासका क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको उनले बताइन्। पोखरेलका अनुसार हावाको गति प्रतिसेकेन्ड झन्डै ३३ मिटर (प्रतिघण्टा ११९) किलाेमिटरका दरले चल्ने सम्भावना छ। ‘यस्तो हावाहुरीले रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहन सक्छ,’ उनले भनिन्, ‘शुक्रबार र शनिबार सजग हुनुपर्ने देखिन्छ।’
जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार जनकपुर, सिमरा क्षेत्रमा पनि ठुलो हावाहुरीको सम्भावना छ। यसबाहेक तराई र पहाडी क्षेत्रमा शुक्रबार र शनिबार हावाहुरीसँगै पानी पर्ने आकलन गरिएको छ। बिहीबार साँझ पश्चिम नेपाल भएर भित्रिने न्यूनचापीय प्रणाली पश्चिमी वायु र स्थानीय वायुमा मिसिएर बलियो बनिरहेको हो। जसले वर्षा, हावाहुरी, चट्याङको जोखिम बढाएको छ।