झापाको इलाका प्रहरी कार्यालय दमकका डिएसपी किशोर लम्साललाई कोशी प्रदेश प्रहरी कार्यालयले फागुन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ। झापाको अति संवेदनशील मानिएको ५ नम्बर क्षेत्रको निर्वाचन शान्तिपूर्ण सम्पन्न गराउन सक्रिय भूमिका खेलेको र विभागीय मूल्य–मान्यताअनुसार आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध नियन्त्रण गर्न सफल भएको भन्दै कोशी प्रदेश प्रहरीले डिएसपी लम्साललाई फागुन महिनाको उत्कृष्ट प्रहरी घोाषणा गरेको हो ।
हेभिवेट उम्मेदवारहरू रास्वपाका बालेन्द्र शाह र एमालेका केपी ओलीले प्रतिस्पर्धा गरेको २१ फागुनमा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि घटना घट्न नदिई निर्वाचन सम्पन्न गराउन सफल भएको, जेन–जी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियारहरू खोजी गर्न र हिरासतबाट फरार भएका प्रतिवादीहरू पक्राउ गरेर कानुनी कारबाही गराउन सफल भएकाले इप्रका दमकका प्रमुख डिएसपी लम्साललाई फागुन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद घिमिरेले बताए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार डिएसपी लम्सालको नेतृत्वमा जेन–जी आन्दोलनमा लुटिएको एक थान राइफल बरामद गरेको, विभिन्न स्थानहरूबाट फरार भएका १९ जना प्रतिवादीहरू पक्राउ परेका थिए । साथै इप्रका दमकमा जेन–जी आन्दोलनका १० वटासहित फागुन महिनामा ३५ वटा मुद्दा दर्ता भएका थिए ।
यसैगरी, डिएसपी लम्सालले जेन–जी आन्दोलनमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकलाई स्थानीय निकाय, विभिन्न संघसंस्था तथा स्थानीयवासीहरूको सहयोगमा भवनहरू पूर्ण रूपमा मर्मत–सम्भार गराएर फर्निचर तथा विद्युतीय उपकरणहरू उपलब्ध गराएको र चालू तथा पेन्डिङ मुद्दाका मिसिलहरू सम्बन्धित कार्यालयहरूसँग समन्वय गरी पुनर्निर्माण गर्न भूमिका खेलेका थिए । साथै ध्वनि प्रदूषण गर्ने २१७ वटा मोटरसाइकल नियन्त्रणमा लिई कारबाही गरेको र र विभिन्न मुद्दाका २२ जना फरार प्रतिवादीहरूसमेत पक्राउ परेका थिए ।
कोशी प्रदेश प्रहरी कार्यालयले प्रहरी आचारण र कर्तव्यअनुसार शान्तिसुरक्षा कायम राख्दै अपराध नियन्त्रणमा प्रभावकारी काम गर्ने प्रहरीहरूलाई हरेक महिना उत्कृष्ट प्रहरी घोषणा गरेर सम्मान गर्दै आएको छ ।