कैलालीमा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ। कैलारी गाउँपालिका– ५, बजैपुरमा ना.६ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई बुधबार राति साढे नौ बजे ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा परी गोरुगाडामा सवार स्थानीय ६० वर्षीय कलसु चौधरी र उनकी श्रीमती ७० वर्षीया सेतानु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए।
दुर्घटनामा गम्भीर घाइते दुवैजनालाई सेती प्रादेशिक अस्पताल ल्याइएकोमा सेतानुलाई चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको र कलसुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार ट्रकले ठक्कर दिँदा गोरुगाडामा तानिरहेको एउटा गोरु मरेको छ भने एउटा गोरु घाइते भएको छ। ट्रकचालक धनगढी उपमहानगरपालिका– ३ बस्ने ३३ वर्षीय रुविन थापामगरलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताए।