बागलुङमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित सातजना घाइते

बुधबार, ४ चैत, २०८२
डिजिटल संस्करण

बागलुङ नगरपालिका– ४, रातमाटामा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित सातजना घाइते भएका छन् । मध्यपहाडी लोकमार्ग सडकमा जिल्लाको गलकोट नगरपालिकाबाट बागलुङ बजारतर्फ आउँदै गरेको लु.३च ५१५० नम्बरको बोलेरो जिप दुर्घटना भएको हो । जिप अनियन्त्रित भई सडकको बायाँ साइडको नालीमा पल्टिँदा गाडीका चालक गलकोट नगरपालिका– ३ का २५ वर्षीय यादव खत्रीसहित सातजना घाइते भएका हुन् ।

दुर्घटनामा चालक खत्रीको दाहिने हातमा सामान्य चोट लागेको छ । त्यसैगरी गलकोट नगरपालिका– ९, टिमुरबोटका ५६ वर्षीय देवबहादुर केसीको टाउको र दाहिने हातमा, गलकोट नगरपालिका– ३, हटियाकी ७३ वर्षीया दिलकुमारी सहनीको घाँटी र दाहिने हातमा चोट लागेको छ। यस्तै गलकोट नगरपालिका– ४, डाँडाखेतकी २६ वर्षीया सारदा खत्रीको टाउकोमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । 

गलकोट नगरपालिका– ७, बामियाँका २४ वर्षीय रोशन थापाको टाउको र बायाँ हातमा सामान्य चोट लागेको छ । त्यसैगरी गलकोट नगरपालिका– ३ नौबिसेटोलका ७३ वर्षीय कुलबहादुर सहनीको घाँटी र गलकोट नगरपालिका– ३ हटियाका २२ वर्षीय करण सहनीको नाकमा सामान्य चोट लागेको छ ।

घाइतेहरूको धौलागिरी प्रादेशिक अस्पताल, बागलुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

सुझावित समाचार