युद्धको दुई हप्तामा लगभग नष्ट हुने अवस्थामा इरानको सैन्य क्षमता

इरानले आफूलाई मध्यपूर्वको क्षेत्रीय शक्तिका रूपमा प्रस्तुत गर्ने हरेक पक्षलाई अहिले अमेरिका–इजरायलको आक्रमणले प्रभावकारी रूपमा नष्ट पारेका छन्

बुधबार, ४ चैत, २०८२
डिजिटल संस्करण

अप्रेसन एपिक फ्युरीको नाममा अमेरिकाले इजरायलको साथ लिएर इरानमाथि आक्रमण सुरु गरेको पनि दुई हप्ता भएको छ । यस अवधिमा मूलधारका मिडियाले एउटै भाष्य व्यक्त गरिरहेको देखिन्छ, ‘संयुक्त राज्य अमेरिका र इजरायल विनाकुनै योजना युद्धमा होमिए । इरानले सम्पूर्ण मध्यपूर्वविरुद्ध बदला लिइरहेको छ । तेलको मूल्य बढ्दै गएको छ, र विश्वले अर्को मध्यपूर्वी संकटको सामना गरिरहेको छ ।’ अमेरिकी सिनेटरहरूले यसलाई ट्रम्प प्रशासनको गम्भीर गल्तीको संज्ञा दिएका छन् । उता विश्लेषकले युद्ध लामो जाने चेतावनी दिइरहेका छन् । सबै एकै स्वरमा उस्तै भाकामा बोल्दा हो कि जस्तो लाग्ने रहेछ । 

युद्ध कुरूप हुन्छ । यसले मध्यपूर्वभरका लाखौँ मानिसलाई साँच्चै अहिले तनावमा पारेको छ । तर, यो युद्धको अर्को पाटोको भने त्यति चर्चा भइरहेको छैन । अहिले इरानलाई क्षेत्रीय शक्ति बनाउने यसका जति पनि अंग लिथ, यसको ब्यालिस्टिक मिसाइल शस्त्रागार, यसको आणविक पूर्वाधार, यसको वायु प्रतिरक्षा प्रणाली, नौसेना र मध्यपूर्वभर फैलिएका यसका प्रोक्सी समूहको सञ्जाल सबैले ठुलो क्षति व्यहोरेका छन् । यसले अमेरिकी असफलताको चित्र प्रस्तुत गर्दैन । बरु यस सैन्य अभियानमार्फत अमेरिका–इजरायलले एक व्यवस्थित र चरणबद्ध रूपमा एक शक्तिशाली राष्ट्रको सबै दारानग्रा निकालेका छन्, जुन काम विगत चार दशकमा कुनै अमेरिकी सरकारले गर्ने हिम्मत गरेको थिएन । 

मैले सुरक्षा अध्ययनसम्बन्धी विषय अध्ययनको प्राज्ञिक करिअरमा राज्यहरूले गुप्तचर संस्थामार्फत बल प्रयोगको अभ्यास दशकौँदेखि देखेको छु । यही अनुवभबाट हालको अमेरिकी–इजरायली सैन्य अभियान हेर्दा अमेरिका–इरान आफ्ना शत्रुविरुद्ध परिचित चरण पार गरी अगाडि बढ्दै उसको शक्ति प्रक्षेपण गर्ने क्षमता वास्तविक समयमा ध्वस्त पार्दै छन् ।

इरानलाई होर्मुज क्षेत्रमा नाकाबन्दी कायम राख्न आवश्यक पर्ने नौसैनिक सम्पत्तिहरू, द्रुत–आक्रमण गर्ने डुंगाहरू, ड्रोनहरू, समुद्री माइन, तटबाट मार हान्ने एन्टीसिप मिसाइल दिनदिनै घट्दै छ । यसैले प्रश्न होर्मुज फेरि खुल्छ कि खुल्दैन भन्ने होइन, बरु इरानले यसलाई कति बन्द गरिरहन सक्छ भन्ने हो । 

दशकौँ लगाएर बनाइएका  शस्त्रागार केही दिनमै नष्ट 
सार्वजनिक रूपमा उपलब्ध तथ्यांकले इरानको मिसाइल भण्डारण उलेख्य घटेको संकेत गर्छ । इरानले युद्धको पहिलो दिन अर्थात् फेब्रुअरी २८ मा ३५० ब्यालिस्टिक क्षेप्यास्त्र हानेकोमा दुई हप्तापछि मार्च १४ मा ९० प्रतिशतभन्दा बढीले घटेर २५ वटा मात्र हान्न सक्यो । ड्रोन प्रक्षेपणको पनि उस्तै चित्र देखिन्छ, इरानले पहिलो दिन ८०० भन्दा बढी ड्रोन उडाएकोमा १५ पछि यो लगभग ७५ मात्र रह्यो । उसो त अमेरिकी र इरानी सैन्य तथ्यांक व्याख्यामा फरक देखिए पनि इरानको सैन्य क्षमताबारे भने उस्तै देखिन्छ । दुई देशले इरानका सयौँ क्षेप्यास्त्र प्रक्षेपण गर्ने प्रणाली निष्क्रिय पारिसकेका छन् । केही रिपोर्टका अनुसार, इजरायलसम्ममा प्रहार गर्ने इरानी क्षमतामा ८० प्रतिशत घटेको छ ।

इरानको नौसेना सम्पत्ति, द्रुत गतिमा आक्रमणमा प्रयोग हुने जहाज, साना आकारका पनडुब्बी र समुद्रमा बारुदी सुरुङ (माइन) बिछ्याउने क्षमता निरन्तर घटिरहेको छ । इरानको हवाई प्रतिरक्षा क्षमता अहिले यतिसम्म भुत्ते बनाइएको छ कि अमेरिकाले इरानी आकाशमा बी–१ बमवर्षक उडाइरहेको छ । यसले इरानको आकाशमाथि अमेरिका–इजरायलको हवाई प्रभुत्व कायम भएको संकेत गर्छ । यस सैन्य अभियानले दुई फरक चरण पार गरेको छ । पहिलो चरणमा इरानको हवाई प्रतिरक्षा नष्ट पारियो, सेनाभित्रको कमान्ड र नियन्त्रणलाई क्षतविक्षत् पारियो, र मिसाइल तथा ड्रोन प्रक्षेपण पूर्वाधारलाई कमजोर बनाइयो । मार्च २ सम्म अमेरिकी केन्द्रीय कमान्डले पश्चिमी इरान र तेहरानमाथि स्थानीय हवाई प्रभुत्वको घोषणा गरिसकेको थियो । आकाशमाथि पकड जनाउने त्यस अवस्था हासिल गर्दासम्म अमेरिका वा इजरायलको एउटा पनि लडाकु विमानमा क्षति पुगेको थिएन । 

हाल जारी दोस्रो चरणमा अमेरिका–इजरायलले इरानको प्रतिरक्षाको औद्योगिक आधारलाई लक्षित गरिरहेको छ । यसअन्तर्गत मिसाइल उत्पादन संयन्त्र, सैन्य तथा नागरिक प्रयोजन दुवैको अनुसन्धान हुने अनुसन्धान केन्द्र र शस्त्रागार बाँकी रहेको भूमिगत भण्डारणमा मार परिरहेको छ । पछि पनि शस्त्रागार पुनर्निर्माण प्रयास कठिन हुने सुनिश्चितता गर्ने गरी व्यवस्थित सैन्य अभियान चालेको देखिन्छ । निरन्तर शस्त्रभण्डारको क्षयले इरानले अहिले एक रणनीतिक द्विविधाको सामना गरिरहेको छ, जुन दिन–प्रतिदिन बढ्दै गएको छ । बाँकी रहेका मिसाइल प्रहार गरे तत्कालै तिनलाई प्रक्षेपण गर्ने लन्चर इजरायली–अमेरिकी नजरमा पर्छन् र नष्ट हुन्छन् । नगरौँ प्रतिद्वन्द्वीमाथि युद्धको भार बढाउने क्षमता कमजोर बन्छ । अहिले मिसाइल र ड्रोन प्रक्षेपणको संख्या हेर्दा इरानले भएको सीमित शस्त्र बचाउने प्रयास गरेको हो कि भन्ने संकेत देखिन्छ । यो कुनै देशले गिर्दो शक्ति व्यवस्थापन गर्ने प्रयासको हिस्सा हो । 

‘स्ट्रेट अफ होर्मुज’को  अवरोधको चोट इरानलाई पनि 
इरानले ‘स्ट्रेट अफ होर्मुज’ बन्द गर्दा विश्वले नै आर्थिक पीडा महसुस गरेको छ । तेलको मूल्य बढेको छ । मूल्यवृद्धिलाई रोक्न विश्वका कैयाँै देशले आफ्ना रणनीतिक रिजर्भबाट इतिहासकै रेकर्ड ४० करोड ब्यारेल तेल निष्कासन गरेका छन् । खाडी देशले आफ्नो ऊर्जा पूर्वाधारमा ड्रोन र मिसाइल आक्रमणको सामना गरिरहेका छन् । तर, यस साँघुरो समुद्री मार्ग बन्द हुँदाको असर इरानमै पनि परेको छ । यो मार्ग इरानले पहिलेदेखि डर देखाउन प्रयोग गर्ने सबैभन्दा गम्भीर प्रतिशोधात्मक कार्ड थियो, जुन अहिले प्रयोगमा ल्याइसकेको छ । यही मार्गबाट इरानको आफ्नै तेल निर्यातको लगभग ९० प्रतिशत हिस्सा बाहिरिने गथ्र्यो । यसैले हरेक दिन नाकाबन्दी जारी रहँदा इरानले आफ्नै आर्थिक जीवनरेखामा धक्काको सामना गरिरहेको छ । 

यसबिच, इरानलाई होर्मुज क्षेत्रमा नाकाबन्दी कायम राख्न आवश्यक पर्ने नौसैनिक सम्पत्तिहरू, द्रुत–आक्रमण गर्ने डुंगाहरू, ड्रोनहरू, समुद्री माइन, तटबाट मार हान्ने एन्टीसिप मिसाइल दिनदिनै घट्दै छ । ‘बन्दर अब्बास’ र ‘चाहबहार’ बन्दरगाहमा रहेका इरानी नौसैनिक आधार गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् । यसैले होर्मुज फेरि खुल्छ कि खुल्दैन भन्ने होइन, बरु इरानले यसलाई कति बन्द गरिरहन सक्छ भन्ने हो । 

कसरी होला यो द्वन्द्वको अन्त्य
धेरैले अमेरिकामाथि कुनै अन्तिम योजनाविनै इरानमाथि आक्रमण सुरु गरेको आरोप लगाइरहेका छन् । तर, राम्ररी मैदानमा हेर्ने हो भने युद्ध अन्त्यको केही संकेत देखिन्छ, जुन चरणबद्ध रूपमा अघि बढेको देखिन्छ । अमेरिकाको उद्देश्य इरानको क्षेप्यास्त्र तथा आणविक कार्यक्रम नष्ट गर्ने, मध्यपूर्वमा छरिएका इरानी प्रोक्सी सञ्जाललाई छिन्नभिन्न पार्ने देखिन्छ, जुनमा ठुलो धक्का लागेको छ । योसँगै इरानको देशबाहिर शक्ति प्रक्षेपण गर्ने क्षमतामा स्थायी ह्रास आउनेछ । यो एक हिसाबले इरानको रणनीतिक निःशस्त्रीकरण हो, जसलाई सन् २००३ मा इराक युद्धसँग भन्दा दोस्रो विश्वयुद्धको अन्तिममा जर्मनीको औद्योगिक युद्ध–निर्माण क्षमतामाथिको मित्रराष्ट्रको आक्रमणसँग तुलना गर्नु उपयुक्त हुन्छ । 

अहिले बमबारी रोकिएपछि के हुन्छ भन्ने प्रश्न धेरैको मनमा छ । युद्ध रोकिएपछि इरानलाई आफ्नो शस्त्रागारको पुनः निर्माण गर्नबाट केले रोक्ला भन्ने पनि प्रश्न छ । तर, इरानी क्षेप्यास्त्र क्षमता धेरै छिटो पुनर्निर्माण गर्न कठिन हुनेछ । उसको आणविक पूर्वाधार पनि अब पहुँचबाट टाढा बनेको छ । युद्ध सुरु भएको दुई हप्ता नाघ्दा इरानको सर्वोच्च नेता मारिए, उनका उत्तराधिकारी घाइते भएको बताइएको छ र इरानी शक्ति प्रक्षेपणको प्रत्येक प्रमुख अंग– मिसाइलहरू, आणविक पूर्वाधार, वायु प्रतिरक्षा, नौसेना, प्रोक्सी कमान्ड नेटवर्कहरू लगभग सबै नष्टप्रायः हुने अमेरिका–इजरायलका लागि जितजस्तै हो । 
–अलजजिराबाट
 

सुझावित समाचार