मनमोहन प्राविधिक विश्वविद्यालयले चिनियाँ राष्ट्रपति सी जिनपिङको जीवनीमा आधारित पुस्तक जलेको भनेर सामाजिक सञ्जालमा फैलिएको सूचना नियोजित नभएको प्रस्ट पारेको छ । विश्वविद्यालयका मुख्य अधिकृत सुजन भुर्तेलले इन्जिनियरिङ संकायको ल्याब निर्माण गर्न वर्कसपमा रहेका पुराना धमिराले खाएका र दाग लागेका पुस्तक नियमअनुसार धुल्याउने क्रममा भुलवश स्टोरका कर्मचारीले नष्ट गर्दा चिनियाँ राष्ट्रपति सी जिनपिङको जिवनीमा आधारित ‘द गभर्नेन्स अफ चाइना’ नामको केही पुस्तक पनि परेको बताएका छन् ।
भुर्तेलका अनुसार वर्कसपको गोदाममा रहेका ‘द गभर्नेन्स अफ चाइना’सहित अन्य धेरै पुस्तक सामग्री संकलन गरेर विश्वविद्यालयको लाइब्रेरीमा सुरक्षित रूपले भण्डारण गरेर राखिएको छ । नष्ट भएका धेरै पुराना कागजी पाठ्यपुस्तकसँगै स्टोरका कर्मचारीबाट भुलवश चिनियाँ राष्ट्रपतिको ‘द गभर्नेन्स अफ चाइना’ पनि परेको उनको भनाइ छ । ‘नयाँ इन्जिनियरिङ ल्याब स्थापना गर्नुपर्ने भएकाले ठाउँ खाली गराउन वर्कसपभित्र रहेका झुत्रा कागज र पुराना किताब प्रक्रियाअनुसार निर्णय गरेर नष्ट गराएका हौँ । कुनै विशेष पुस्तक गलत मनसाय राखेर जलाउन लगाएका हँुदै होइनौँ, हुलमुलमा रेकर्डमा नभएका चिनियाँ राष्ट्रपतिको केही पुस्तक पनि पर्न गएकोमा क्षमा चाहन्छौँ,’ उनले भने ।