मागेअनुसार दाइजो नपाएपछि विवाह नगरी फरार भएको आरोपमा वीर अस्पतालका चिकित्सकविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । रौतहटको कटहरिया नगरपालिका २ घर भएका मो.ओजिर देवान र उनका दाई केदारबाबु देवानविरुद्ध जिल्ला अदालत, काठमाडौंमा विवाहमा लेनदेन गर्न नहुने कसुरमा मुद्दा दायर भएको हो।
ओजिरले गत १४ मंसिरमा एक युवतीसँग कोर्ट म्यारिज गरेका थिए। पछि सामाजिक परम्पराअनुसार विवाहको तयारी अघि बढेकोमा दाइजोको विषयलाई लिएर विवाद भई उनी सम्पर्कविहिन बनेको युवतीको भनाइ छ।
युवतीको उजुरीअनुसार उनी कतारमा कार्यरत थिइन्। ओजिरसँग उनी सात वर्षदेखि प्रेम सम्बन्धमा थिइन्। विवाहपछि ढल्कुमा सँगै पनि बसेको उनको दाबी छ। विवाहअघि नै फर्निचर र कपडाका लागि भनेर बैंक खातामै चार लाख रुपैयाँ दिइएको जाहेरीमा उल्लेख छ।
पछि ओजिरका दाइ केदारबाबु रौतटहबाट आएर आफ्नो भाइले डाक्टर पढेको पैसा दिनुपर्ने, स्कोरपियो गाडी र २० लाख रुपैयाँ चाहिने भन्दै विवाद गई विवाह रद्द भएको थियो। त्यसपछि युवतीले प्रहरीमा उजुरी दिएकी हुन्। देवान दाजुभाइविरुद्ध विवाहमा लेनदेन गर्न नहुने कसुरअनुसार मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। आजिर फरार छन् भने उनका दाजु केदारबाबुलाई भने प्रहरीले पक्राउ गरी बयान लिएर हाजिरी जमानीमा छाडेको थियो। बयानका क्रममा उनले आफूले दाइजो नमागेको दाबी गरेका छन् ।
स्रोतका अनुसार प्रहरीमा वैवाहिक बलात्कारको मुद्दासमेत परेको छ।
प्रतिवादीमध्ये केदारबाबु पर्साको छिपहरमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन्।