प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेकपा एमालेलाई धन्यवाद दिएकी छिन्।
मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाएर उनले धन्यवाद दिएकी हुन्। एमाले नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला प्रधानन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका थिए।
भेटमा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै धन्यवाद दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
‘यो कठिन अवस्थालाई शान्तिपूर्ण रूपमा निकास दिने एक मात्र विकल्प निर्वाचन नै थियो,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘राष्ट्रप्रतिको जिम्मेवारी सम्झेर यहाँहरूले जुन सहयोगी भूमिका खेलिदिनुभयो र निर्वाचनमा सक्रिय सहभागिता जनाइदिनुभयो, यसका लागि मुरीमुरी धन्यवाद दिन चाहन्छु।’
निर्वाचनमा जित–हार भइरहने भएकाले एकपल्टको जनादेशबाट विचलित नहुन भन्दै एमाले नेतृत्वलाई सान्त्वना दिएकी छिन्। उनको भनाइ थियो, ‘एकैपटकको जनमतले सधैँका लागि पार्टीहरूको हैसियत निर्धारण गर्दैन। भारतमा अटलविहारी बाजपेयी र इन्दिरा गान्धीका पालामा उहाँहरूका पार्टीले बेहोरेको उतारचढाव पनि देखेकै छौँ। राजनीति निरन्तरको अभियान भएकाले देश र जनताका मुद्दा बोकेर लागिरहनुहोस्।’
एमाले नेताहरूले पनि सबै पक्षको चित्त बुझाउँदै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री कार्की र उनी नेतृत्वको सरकारलाई बधाई दिए। मुलुकलाई कठिन घडीमा नेतृत्व प्रदान गरी सर्वस्वीकार्य, शान्तिपूर्ण र लोकतान्त्रिक निकास दिएकोमा एमाले नेताहरूले धन्यवाद दिएका छन्।
यसपालिको निर्वाचनमा प्रशासनको निष्पक्षता रहेको भन्दै सरकारको प्रशंसा पनि गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। साथै, यसपालिका चुनावी अभियानहरू विगतभन्दा बढी स्वस्थ, शान्तिपूर्ण र कम खर्चिलो भएको अनुभव पनि सुनाए।