राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले अर्को निर्वाचनमा जनताले रास्वपालाई मात्रै मतदान गर्ने गरी काम गर्नुपर्ने बताएका छन् ।
रास्वपाले आयोजना गरेको सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले आगामी पाँच वर्षभित्र पार्टीले ‘प्रतिपक्षविहीन’ अवस्था सिर्जना गर्ने गरी काम गर्नुपर्ने बताएका हुन्। उनले यस्तो लक्ष्य भाषण वा सीमित नेताहरूको प्रयासले मात्र सम्भव नहुने भन्दै सबै तहका नेता–कार्यकर्ताले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए।
अर्यालले अब बन्ने सरकारले सुशासन कायम गर्ने, प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने तथा भ्रष्टाचार अन्त्य गर्ने दिशामा केन्द्रित हुनुपर्ने बताए। उनले निर्वाचनमा पार्टीले जित हासिल गरे पनि देश र जनताले अझै जित्न बाँकी रहेको उल्लेख गर्दै वास्तविक उपलब्धि जनताको जीवनमा परिवर्तन ल्याउनु भएको बताए।
उनका अनुसार दूरदराजका नागरिकसम्म राज्यको उपस्थिति अनुभूत गराउने, ‘मेरो लागि सरकार छ’ भन्ने अनुभूति दिलाउने वातावरण निर्माण गर्नु आवश्यक छ। उनले सांसदहरूलाई आफ्नो क्षमता, लगनशीलता र समय राष्ट्रहितमा समर्पित गर्न आग्रह गरेका छन्।