राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले नवनिर्वाचित सांसदहरूलाई जनताले दिएको ऐतिहासिक मतको कदर गर्दै जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरेका छन्।
मंगलबारदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति वाग्लेले सांसदहरूलाई पुनः अध्ययनमा केन्द्रित हुन सुझाव दिए। उनले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न आधारभूत विषयहरू गहिरो रूपमा बुझ्न आवश्यक रहेको बताए।
‘अब फेरि अध्ययनको चरणमा प्रवेश गर्नुपर्नेछ, यो केही हदसम्म ‘ब्याक टु कलेज’ जस्तै हो,’ उनले भने, ‘आधारभूत कागजातहरूको फ्रेमवर्क बुझ्नुपर्छ र पार्टीका धारणा पनि राम्रोसँग अध्ययन गर्नुपर्छ। वाचापत्र दोहोर्याएर तेहेर्याएर पढ्नुहोला।’
उनले व्यक्तिगत समस्या समाधानभन्दा प्रणाली सुधारतर्फ ध्यान दिन सांसदहरूलाई आग्रह गर्दै दीर्घकालीन परिवर्तनका लागि गम्भीर हुनुपर्ने बताए।
वाग्लेले आगामी सरकारका गतिविधिलाई निगरानी गर्ने ‘वाचडग’को भूमिका निर्वाह गर्न पनि सांसदहरूलाई निर्देशन दिए। साथै, जनतामा रहेको विकासप्रतिको अपेक्षा र उत्साहलाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए।