इरान युद्धले निम्त्याउन सक्छ विश्वव्यापी खाद्य संकट

मंगलबार, ३ चैत, २०८२
डिजिटल संस्करण

इरानविरुद्ध अमेरिका–इजरायलको युद्ध अभियान सुरु भएदेखि दिनमा १०० वटा जहाज बाहिरिने ‘स्ट्रेट अफ होर्मुज’बाट थोरै जहाज मात्र पार गर्न सफल भएका छन् । इरानले यो साँघुरो जलमार्गमा विस्फोटक समुद्री बारुदी सुरुङ(माइन) राखेको समाचार आएका छन् । यदि समाचार साँचो हो भने यो समुद्री माग कैयौँ दिन मात्र होइन, महिनौँसम्म बन्द रहने सम्भावना छ । यो महत्वपूर्ण मार्ग लामो समयसम्म बन्द हुँदाको विश्वव्यापी ऊर्जा बजारमा लाग्ने धक्काको सबैभन्दा तत्काल र खतरनाक परिणाम पेट्रोल पम्पमा भन्दा पनि हाम्रो भान्सामा देखा पर्न सक्छ । 

धेरैको सोचविपरीत ‘स्ट्रेट आफ होर्मुज’ तेल ट्यांकरहरूको मात्र ढुवानी मार्ग होइन, यो विश्वव्यापी खाद्य प्रणालीको एक महत्वपूर्ण धमनी पनि हो । विश्वभर उब्जाइने गहुँ, मकै, चामल, भटमास, चिनी र पशु आहारा उब्जाउने किसान यहाँबाट आउने रसायनिक मल र इन्धनमा निर्भर हुन्छन् । त्यसबाहेक आयातीत खाद्यान्नमा अत्यधिक निर्भर खाडी राष्ट्रहरू त झन् बढी खाद्यान्न अभावको खतरामा छन् । अन्न, चामल, पशुआहारा र खाना पकाउने तेलका लागि ती देश यही जलमार्गमाथि बढी निर्भर छन् । 

कोभिड–१९ महामारीले आपूर्ति शृंखलाको कमजोरी केवल युद्धकालीन समस्या मात्र नभएको देखाएको थियो । यसैले गर्दा विगत केही वर्षदेखि कैयौँ खाडी देशले आफ्नो खाद्य प्रणालीलाई बलियो बनाउन, रणनीतिक भण्डार विस्तार गर्न र घरेलु उत्पादनमा लगानी गर्ने दिशामा कदम चालेका छन् । तिनले वैकल्पिक ढुवानी मार्गको विकल्प खोज्ने क्रममा केही कार्गो जमिनको सडक प्रयोग गर्ने विकल्प खोजेका छन् । तीमध्ये एक विकल्प लाल सागरमा रहेको साउदी अरेबियाको जेद्दाह इस्लामिक बन्दरगाह हो । यी उपायहरूले खाडी देशको खाद्य सुरक्षामा केही सुधार ल्याएको छ, तथापि तिनले मात्र हाल फारसी खाडीमा लाग्न सक्न्ने देखिएको लामो नाकाबन्दीको असर क्षतिपूर्ति दिन सक्दैनन् । 

बहराइन, कुवेत, कतार, संयुक्त अरब इमिरेट्स(युएई), साउदी अरब र इराकमा खपत हुने लगभग ७० प्रतिशत खाद्यान्न ‘स्ट्रेट अफ होर्मुज’ हुँदै जान्छ । लगभग १० करोड जनसंख्या बसोवास रहेको यी देशहरूमा प्रतिदिन लगभग आठ करोड किलोग्राम खाद्यान्न आवश्यक पर्छ, जुन सकड मार्गमार्फत ओसारपासार गर्न निकै कठिन हुन्छ । यसले नाकाबन्दीको अवस्थामा खाडीमा खाद्यान्न आपूर्तिका लागि अभूतपूर्व खर्च र मिहिनेत आवश्यक पर्नेछ । तुलनाका लागि, संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले सन् २०२४ मा ७१ देशका ८ करोड १० लाख मानिसहरूलाई प्रतिदिन औसतमा ७० लाख केजी मात्र खाना पुर्याउँथ्यो । उसो त होर्मुजबाट आवागमन पूर्ण बन्द हुँदा इरानलाई पनि उसका अरब छिमेकीहरूजत्तिकै हानि पुग्नेछ । समुद्री व्यापारमा आएको अवरोधले यो देशलाई ऊर्जा निर्यातमा अवरोध पुर्याएर तथा गहुँ, चामल, पशु आहार र वनस्पति तेलजस्ता आयातीत प्रमुख वस्तुहरूको लागत बढाएर दोहोरो मार पार्नेछ । परिणामस्वरूप इरानमा खानादेखि अन्य आधारभूत आवश्यकता बढ्नेछ । खासमा यस्तै महँगी यो वर्षको सुरुमा सो देशमा ठुलो विरोध प्रदर्शन बढाउन सघाएको थियो । 

इरानले ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेसँगै धेरैको ध्यान तेलको मूल्यमा केन्द्रित छ । तर, त्योभन्दा पनि तत्काल र खतरनाक असर विश्वव्यापी खाद्य आपूर्तिमा पर्ने देखिन्छ । यदि सो जलमार्ग लामो समय बन्द भयो भने विश्वभरको कृषि उब्जनी प्रभावित हुनेछ र मध्यपूर्वका १० करोडभन्दा बढी मानिस मानवीय विपत्तिको जोखिममा पर्न सक्छन् ।
 

ऐतिहासिक रूपमा, खाद्यान्नको मूल्य वृद्धि र अभाव राजनीतिक अस्थिरताको प्रमुख कारक बन्ने गरेको देखिन्छ । सन् २००८ मा, बढ्दो ऊर्जा र रासायनिक मलको लागत, विषम मौसम तथा गलत नीतिले धेरै ठाउँमा बालीको मूल्य लगभग दोब्बर भयो । यसले दर्जनौँ देशहरूमा खाद्यलाई लिएर दंगा निम्त्यायो । केही वर्षपछि, सन् २०१० र २०११ मा, रुसमा ऐतिहासिक खडेरी र गर्मीको लहरले अन्नको बाली घट्दा विश्वव्यापी खाद्य मूल्य रेकर्ड स्तरमा बढ्यो । त्यसले रुसी खाद्यान्नमा बढी निर्भर अरबी देशमा अरब बसन्त(आन्दोलन)को माहोल निर्माण गरेको थियो । 

पछिल्लो समय सन् २०२२ मा युक्रेनमा रुसको आक्रमणपछि विश्वभर अन्न, रासायनिक मल र इन्धनको मूल्य बढ्दा खाद्य असुरक्षामा तीव्र वृद्धि भयो । जलवायु संकट र महामारीको प्रभाव अझै नसकिएको अवस्थामा विश्वव्यापी खाद्य प्रणालीमा असर पर्दा विश्वमा अहिले दोस्रो विश्वयुद्धको अन्त्यपछिकै हिंसात्मक द्वन्द्वमा गुज्रिनु अचम्मको कुरा होइन । 

स्ट्रेट अफ होर्मुजको अवरोधको प्रभाव खाडीभन्दा धेरै टाढासम्म फैलिनेछ । दक्षिण एसियादेखि सबसहारा अफ्रिकासम्म र युरोप र संयुक्त राज्य अमेरिकासम्मका किसानहरूको रासायनिक मल र इन्धनको आपूर्ति प्रभावित हुनेछ । प्राकृतिक ग्यास नाइट्रोजनजन्य मलको प्रमुख तत्व हो, जुन मललाई आधुनिक कृषिको आधारशिला मानिन्छ । नाइट्रोजनजन्य मलले बाली उत्पादनलाई ऐतिहासिक उच्चतमस्तरमा पुग्न मद्दत गरेको छ । विश्वमा खपत हुने कुल नाइट्रोजनजन्य मलको अनुमानित ३०–४० प्रतिशत यही स्ट्रेटबाट बाहिरिन्छ । जब रासायनिक मल र इन्धन महँगो हुन्छ, किसान कम मल प्रयोग गरेर वा कम एकड रोपेर खर्च समायोजन गर्ने गर्छन् । फलस्वरूप, खाद्य उत्पादन घट्छ, र यसको प्रभाव सम्पूर्ण खाद्य प्रणालीमा पर्छ । किसानदेखि खाद्य सामग्री बोक्ने ट्रकचालकसम्म र खाद्य प्रशोधक हुँदै खाद्यान्नको महँगी घरपरिवारसम्म आइपुग्छ । खाद्यान्न, इन्धन र रासायनिक मलको ढुवानीमा आएको अवरोधको असर हप्ता वा महिना दिनभित्र मूल्यवृद्धिका रूपमा देखिन सक्छ । 

तर, केही दिनभित्र अर्को स्रोत पनि जोखिममा पर्न सक्छ, जुन हो पानी । यदि द्वन्द्वले खाडीको पानीलाई दूषित गर्यो र समुद्रको पानीबाट नुन छुट्याएर शुद्ध गर्ने ‘डिसेलिनेसन प्लान्ट’मा क्षति पुग्यो भने परिणाम विनाशकारी हुनेछ । जोखिम पहिले नै उच्च छ । गत साता पहिलेदेखि नै पानीको अभाव सामना गरिरहेका बहराइन र इरानका डिसेलिनेसन प्लान्टमा आक्रमण भएको थियो । यदि ती आक्रमण जानाजानी गरिएको भए यो अन्तर्राष्ट्रिय कानुनअन्तर्गत युद्ध अपराध मानिनेछ । किनकि त्यस्तै संयन्त्र नष्ट वा दूषित हँुदा लाखौँ सर्वसाधारणको जीवनलाई खतरामा पर्छ । युक्रेनले महत्वपूर्ण पूर्वाधारमा पुगेको क्षति युद्धबिच पनि मर्मत गर्न सकिने देखाएको छ, तर डिसेलिनेसन संयन्त्र अत्यन्त जटिल हुने भएकाले तिनमा त्यस्तो तीव्र सुधार सम्भावना हुँदैन ।

द्वन्द्व झड्किरहने मध्यपूर्वमा दशकौँदेखि अन्तर्राष्ट्रिय सुरक्षा अग्रसरताले त्यस भेगमा आमविनाशकारी हतियारहरूको प्रसार रोक्नमा ध्यान केन्द्रित गर्दै आएका छन् । तैपनि समुद्री मार्गमा राखिने बारुदी सुरुङ वा निरन्तर सैन्य द्वन्द्वले ‘स्ट्रेट अफ होर्मुज’ बन्द हुँदा विश्वव्यापी खाद्य र ऊर्जा प्रणालीलाई गम्भीर असर पुग्ने देखिन्छ । यसले क्षेत्रीय पानी संकट निम्त्याएर आमनागरिकमा ठुलो क्षति ल्याउन सक्छ । द्वन्द्वका सबै पक्षहरूले बृहत् अन्तर्राष्ट्रिय समुदायसँग मिलेर यस्तो परिणाम रोक्न सम्भव भएसम्म सबै कारबाही अघि बढाउनुपर्छ । साथै, यो परिघटना विश्वव्यापी खाद्य प्रणाली कति कमजोर रहेछ भन्ने सबैका लागि चेतावनी हुनुपर्छ । अर्को यस्तै धक्काले लाखौँ मानिसहरूलाई मानवीय संकटतिर धकेल्नुअघि नीति–निर्माताले सबलता विकास गर्न काम गर्नुपर्छ ।
– प्रोजेक्ट सिन्डिकेटबाट

सुझावित समाचार