कक्षा १० को शैक्षिक गतिविधिको समाप्तिपश्चात् एसइईको तयारीमा रहेका नेपाल प्रहरी स्कुलका विद्यार्थीले ट्राफिक नियमसम्बन्धी जानकारी लिएर एक दिन सामाजिक सेवाअन्तर्गत ट्राफिक स्वयंसेवकको रूपमा कार्य गरेका छन् । नेपाल प्रहरी स्कुल शान्तिपुर चितवनमा कक्षा १० मा अध्ययनरत छात्रछात्राले नारायणगढको सडकमा एक दिन ट्राफिक स्वयंसेवकको रूपमा कार्य गरेका हुन् ।
नजिकिँदै गरेको एसइईपश्चात् प्रहरी विद्यालय छाड्ने विद्यार्थीलाई लक्षित गरेर सचेतनामूलक कार्यक्रम एवं विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न सक्ने आचरण व्यवहार प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए। विद्यार्थीलाई नेपाल प्रहरीको दैनिक कामकारबाही, अपराध अनुसन्धान एवं विभिन्न विषयका कानुनी ज्ञानका साथै सवारी तथा यातायात व्यवस्थापनसम्बन्धी महत्त्वपूर्ण प्रावधान, ट्राफिक नियम, कारबाही, जरिवाना एवं सवारी दुर्घटना न्यूनीकरणमा एक जिम्मेवार नागरिकको भूमिका सम्बन्धमा सचेतना प्रदान गरिएको छ। सचेतना कक्षामा सहभागी छात्रछात्राहरूले आफूले सिकेका जानकारीहरूलाई ट्राफिक प्रहरीसँगै सडकमा खटिएर ट्राफिक स्वयंसेवकको भूमिकासमेत निर्वाह गरेका थिए ।
ट्राफिक प्रहरीसँगै नारायणगढको विभिन्न व्यस्त चोकमा परिचालित ट्राफिक स्वयंसेवक विद्यार्थीले सवारी नियम उल्लंघन गर्नेहरूलाई कारबाही गर्न सहयोग गर्ने, जेब्राक्रसिङबाट बाटो काट्न सहयोग गर्ने, सडक प्रयोगकर्ताहरूलाई सुरक्षित सडक प्रयोग गर्नेसम्बन्धी जानकारी दिनेलगायतका कार्य सम्पादन गरेका थिए । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनसँग समन्वय गरी नेपाल प्रहरी स्कुल शान्तिपुर चितवनमा कक्षा १० मा अध्ययनरत ५३ जना विद्यार्थीले सार्वजनिक सेवाअन्तर्गत ट्राफिक स्वयंसेवकको रूपमा एक दिन कार्य गरेको स्कुलका समादेशक प्रहरी निरीक्षक थापाले जानकारी दिए।
कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डे, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरी, जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापा, स्कुलका समादेशक प्रहरी निरीक्षक रोशन थापा, स्कुलका शिक्षक एवं कर्मचारीहरूको उपस्थिति रहेको थियो । उत्कृष्ट शैक्षिक वातावरणका साथै अनुशासन, सामाजिक व्यवहार, अतिरिक्त क्रियाकलापलगायतका विषयमा विद्यालयस्तरबाटै छात्रछात्रालाई अभ्यस्त गर्दै आएको नेपाल प्रहरी स्कुल शान्तिपुर चितवनले विभिन्न परीक्षाहरूमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। विद्यालयलमा आगामी शैक्षिक सत्रका लागि कक्षा एक देखि नाैसम्म भर्नासमेत खुलेको छ।