लगातार चार बराबरीपछि लालीगुराँस एसोसिएसन क्लबले राष्ट्रिय लिग फुटबलमा प्लानिङ ब्वाइज युनाइटेडलाई ३–२ ले पराजित गरेको छ । आशिष गुरुङले खेलको अन्त्यतिर गोल गर्दैै लालीगुराँसलाई जित दिलाएका हुन् । लिगमा लालीगुराँसको यो छैटौँ जित हो । लालीगुराँसले १२ खेलबाट २४ अंक जोडेर तेस्रो स्थान रक्षा गरेको छ । कास्कीको लालीगुराँसले सातौँ चरणमा सुर्खेतको काँक्रेविहार क्लबलाई ४–१ ले हराएको थियो । त्यसपछि उसले लगातार चार खेलमा बराबरी नतिजा निकाल्यो । लालीगुराँसले फ्रेन्ड्स, संकटा, एनआरटी र मनाङ मस्र्याङ्दी क्लबसँग बराबरी खेलेको थियो ।
लिगमा मच्छिन्द्र एफसी र नेपाल एपिएफभन्दा लालीगुराँस १ अंकले मात्र पछि छ । लालीगुराँसले १२ खेलसम्म आफ्नो अपराजित यात्रा जारी छ । उसले समान ६ जित र ६ खेलमा बराबरी खेलेको छ । १२ खेलबाट २२ अंक जोडेको प्लानिङ चौथो स्थानमा झरेको छ । प्लानिङको यो लिगमा दोस्रो हार हो । दशरथ रंगशालमा राज भुसालले २०औँ मिनेटमा लालीगुराँसलाई १–० को अग्रता दिलाए । खेलको २४ओँ मिनेटमा जुनियर डोनोउले लालीगुराँसलाई २–० को स्थितिमा राखे । उनले लच्छु थापाको कर्नर पासमा हेडिङ गोल गरेका हुन् ।
दोस्रो हाफमा प्लानिङले सुधारिएको प्रदर्शन गर्यो । यस अवधिमा प्लानिङ ब्वाइजले दुई गोल गरी खेलमा फर्किएको थियो । प्लानिङका रोमन भुजेलले ५७औँ गोल गरी २–१ को गोलअन्तरमा खेल पुर्याए । खेलको ७३औँ मिनेटमा साहिल केसीले प्लानिङ ब्वाइजलाई २–२ को बराबरीमा राखे । त्यसपछि खेल रोमाञ्चक अवस्थामा पुग्यो । लालीगुराँसका लागि वैकल्पिक खेलाडीका रूपमा प्रवेश गरेका आशिष गुरुङले निर्णायक गोल गरेका थिए । खेलको ८४औँ मिनेटमा उनले विजयी गोल गरेका हुन् । इन्जुरी समयमा निंग्मा घिसिङले रातो कार्ड पाएपछि प्लानिङ ब्वाइज १० खेलाडीमा सीमित भएको थियो । आशिषको गोलमा लालीगुराँसले तीन अंक जोड्यो । अन्तिम समयमा सम्हालिन नसक्दा प्लानिङ ब्वाइजले हारको सामना गरेको हो ।
सातदोबाटो र पुलिसले अंक बाँडे
एन्फा कम्प्लेक्समा सातदोबाटो युथ क्लब र विभागीय नेपाली पुलिस क्लबले राष्ट्रिय लिगमा अंक बाँडेका छन् । दुवै टोलीले २–२ को बराबरी खेलेका हुन् । खेलमा सातदोबाटोले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा पुलिसले बराबरी गोल फर्काउँदै अंक बटुल्यो । खेलको १७औँ मिनेटमा अरुण लामाले सातदोबाटोलाई १–० को अग्रता दिलाए । खेलको २६औँ मिनेटमा फोडे फोफानाले सातदोबाटोलाई २–० को स्थितिमा राखे । दोस्रो हाफमा सातदोबाटोले अग्रता जोगाउन सकेन । खेलको ७५औँ मिनेटमा धीरेन्द्रबहादुर शाहले पुलिसलाई २–१ को स्थितिमा ल्याए । खेलको अन्तिम इन्जुरी समयमा सुवास थारूले पुलिसलाई २–२ का बराबरीमा पुर्याए ।
बराबरीसँगै पुलिसले लिगमा १० अंक जोडेको छ । पुलिसले १२ खेलमा दुई जित, चार बराबरी र ६ हार सामना गरी १३औँ स्थानमै आफूलाई यथावत् राख्यो । सातदोबाटोले समान १२ खेल खेल्दा समान १० अंक जोडेको छ । १४औँ स्थानमा रहेको सातदोबाटो गोलअन्तरको आधारमा पछाडि परेको छ । पुलिसविरुद्ध दुई गोलको अग्रता रक्षा गर्न नसक्दा सातदोबाटो आठौँ खेलसम्म पनि जितविहीन भयो ।