नेपाल निर्माण व्यवसायी महासंघले ‘निर्माण गतिविधि स्थगन’ (कन्स्ट्रक्सन होलिडे) घोषणा गर्न सरकारसँग माग गरेको छ । महासंघले इन्धनलगायत निर्माण सामग्रीमा भारी मूल्यवृद्धि भएको भन्दै मूल्य स्थिर नहुँदासम्मका लागि निर्माण होलिडे घोषणा गर्न माग गरेको हो । मूल्यवृद्धिका कारण व्यवसायीलाई ठुलो आर्थिक भार पर्नुका साथै पूर्वाधार लागत र खर्च बढ्न गई सार्वजनिक निकायलाई समेत आर्थिक बोझ थपिने महासंघको जिकिर छ ।
मूल्यवृद्धि स्थिर नभएसम्म सम्पूर्ण आयोजनाको निर्माणकार्य हाललाई स्थगित गर्न व्यवसायी बाध्य हुनेसमेत भन्दै महासंघले सोमबार विज्ञप्ति जारी गर्दै सरकारबाटै निर्माण होलिडे घोषणा हुँदा उचित हुने बताएको छ ।बिटुमिन, फलामे छड, सिमेन्टलगायत निर्माण सामग्रीमा कार्टेलिङ गरी मूल्यवृद्धि गरिएको महासंघको ठहर छ । त्यस्तै, पेट्रोलियम पदार्थको समेत मूल्यवृद्धि भएपछि समग्र निर्माणको लागत बढ्ने महासंघले जनाएको छ ।