छोराछोरीसहित बेपत्ता आमाको शव भेरी नदीमा भेटियो, छोराछोरीको खोजी जारी

सोमबार, २ चैत, २०८२
डिजिटल संस्करण

सुर्खेतमा छोराछोरीसहित सम्पर्कविहीन रहेकी ३८ वर्षीया महिलाको शव भेटिएको छ। गुर्भाकोट नगरपालिका–१२, पिप्ले बस्ने माया कठायत ११ वर्षकी छोरी आशा र ५ वर्षको छोरा दीपकसहित आइतबारदेखि बेपत्ता भएकी थिइन्।

प्रहरी र स्थानीयले खोजी गर्दा उनको शव भेरी नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। सोमबार साँझ ५ बजेतिर हराएको स्थानदेखि ७ किलोमिटर दक्षिणतर्फ लेकबेँसी नगरपालिका–३, पटारेस्थित भेरी नदीको किनारमा शव भेटिएको जिल्ला प्रहरी प्रवक्ता तथा डिएसपी मोहनजंग बुढथापाले बताए। 

मृतकका श्रीमानले शवको सनाखत गरिसकेका छन्। उनका दुई छोराछोरीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। तीनैजना घरबाट सम्पर्कविहीन भएको मायाका श्रीमान् भूपेन्द्र कठायत आइतबार नै प्रहरी चौकी गुमी सुर्खेतमा खबर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

खबर पाएलगत्तै प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङको कमान्डमा चारजनाको प्रहरी टोली, वडाध्यक्षलगायत स्थानीयसहितको संयुक्त टोलीले खोजतलास गर्दा माया घरदेखि तीन किलोमिटर टाढाको दूरीमा रहेको भेरी नदीको किनारमा उनले प्रयोग गरेको झोला, सल, चप्पल र एक थान मोबाइल फेला जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता बुढथापाले बताए। 

सुझावित समाचार