संसदीय राजनीतिबाट सन्न्यास लिने सिके राउतको घोषणा

सोमबार, २ चैत, २०८२
डिजिटल संस्करण

जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदीय राजनीतिबाट सन्न्यास लिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले अब पदको राजनीतिबाट टाढा रहने, तर जनताको अधिकार र पहिचानका लागि संघर्ष भने निरन्तर जारी राख्ने बताएका हुन्।

राउतले आफ्नो व्यक्तिगत इच्छाविपरीत दुईपटक संसदीय निर्वाचन लडेको उल्लेख गर्दै एकपटक जित र एकपटक हार व्यहोरेको बताए। दुवै निर्णयप्रति आफू सन्तुष्ट रहेको उनको भनाइ छ।

उनले ०७५ सालमा  ‘स्वतन्त्र मधेश गठबन्धन’लाई सरकारले काम गर्न नदिएको र जनता माझ जान रोक लगाइएपछि नयाँ राजनीतिक दल गठन गर्नुपर्ने अवस्था आएको स्मरण गरेका छन्। सो क्रममा अन्य नेताहरूले अध्यक्ष बन्न नमानेपछि आफूले नै पार्टीको नेतृत्व सम्हाल्नुपरेको उनले बताएका छन्।

०७९ सालको आमनिर्वाचनमा प्रत्यक्ष वा समानुपातिक कतैबाट नलड्ने सोच बनाएको भए पनि पार्टीका नेताहरूको आग्रहपछि चुनावमा सहभागी भएको उनले उल्लेख गरे। त्यस निर्णयका कारण पार्टीले प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ पाँच सिट जित्दै राष्ट्रिय पार्टी बन्न सफल भएको उनको दाबी छ।

त्यस्तै, ०८२ को निर्वाचन पनि नलड्ने निर्णय गरेको भए पनि अन्तिम समयमा पार्टीका नेता तथा कार्यकर्ताको मनोबल कायम राख्न उम्मेदवारी दिएको उनले बताएका छन्। परिणामपछि पनि साथीहरूको सल्लाह मानेर चुनाव लडेको निर्णय सही भएको महसुस भएको उनको भनाइ छ।

राउतले अब संसदीय वा पदको राजनीतिबाट विश्राम लिने, तर राजनीतिबाट अलग नहुने स्पष्ट पारेका छन्। उनले आफ्नो सिद्धान्त, एजेन्डा र जनताको अधिकारका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै आगामी स्थानीय तह र प्रदेश निर्वाचनका लागि पार्टीलाई तयारी गराउने र जनताको सेवामा सक्रिय रहने बताएका छन्।

सुझावित समाचार