श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले पेट्रोलियम पदार्थको कृत्रिम अभाव देखाएर कालोबजारी नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै साम्पाङले आपूर्ति असहज भएको मौका छोपेर भण्डारण गर्ने र महँगो मूल्यमा बिक्री गर्ने प्रवृत्ति भएकाले त्यसो नगर्न आग्रह गरेका छन् । उनले सरकारलाई पनि सबै संयन्त्र प्रयोग गरेर पेट्रोलियम पदार्थको आपूर्ति सहज गराउन ध्यानाकर्षण गराएका छन् ।
‘पेट्रोलियम पदार्थको अभाव देखिएको छ, सरकारले के गर्नुपर्ने हो, कहाँ कसो गर्नुपर्ने हो । ती सबै काम गरेर पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज गर्नुपर्दछ भन्ने माग गर्दछु,’ उनले भनेका छन्, ‘यहाँहरू सबैलाई मेरो अनुरोध छ, कोही कसैले यतिखेर कालाेबजारी नगर्नुहोला ।’
अभावको मौका छोपेर १० रुपैयाँको सामानलाई ५० देखि सय रुपैयाँसम्मा बिक्री गर्ने पुरानो प्रवृत्तिलाई दोहोर्याएर सर्वसाधारणलाई दुःख नदिन पनि उनले आग्रह गरेका छन् । ‘नेपालमा कस्तो छ भने अलिकति सर्टेज भयो कि भण्डारण गर्ने र १० रुपैयाँमा किनेको सामान ५० रुपैयाँदेखि सय रुपैयाँमा बेच्ने प्रवृत्ति छ । यतिखेरै हो मौका, यतिखेरै हान्नुपर्छ चौका भन्ने प्रवृत्ति रहिआएको छ नेपालमा । त्यसो नगर्न म सम्बन्धित सबैलाई अनुरोध गर्न चाहन्छु,’ भिडियो सन्देशमा उनले भनेका छन् ।
मध्यपूर्वको तनावले ग्यासको माग बढेपछि अहिले आयल निगमले आधा ग्यास भरिएको सिलिन्डर आपूर्ति गर्ने व्यवस्था मिलाएको छ ।