कास्की जिल्ला पोखरामा जारी प्रधानमन्त्री (पिएम) कप गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा तनहुँ जिल्लालाई १८७ रनको विशाल अन्तरले पाखा लगाउँदै कास्की उपाधिनजिक पुगेको हो।
खेलमा टस जितेर ब्याटिङ रोजेको कास्कीले ४५ ओभरमा ६ विकेट गुमाएर २९५ रनको विशाल योगफल तयार पारेको थियो । २९६ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङका लागि मैदान उत्रेको तनहुँ ३० ओभरमा अलआउट हुँदै जम्मा १०८ रनमा समेटिएको थियो ।
यस अघि समूह चरणको खेलमा समूह ‘ए’ को विजेता बन्दै कास्कीले र समूह ‘बी’ को उपविजेता बन्दै तनहुँले सेमिफाइनलको यात्रा तय गरेका थिए । फाइनल प्रवेश गरेको कास्कीले समूह ‘बी’ विजेता स्याङ्जा र समूह ‘ए’ को उपविजेता नवलपुरबिच सोमबार हुने सेमिफाइन खेलको विजेतासँग उपाधिका लागि मंगलबार हुने फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ।
कुमालको शतक
कास्कीलाई फाइनल पुर्याउन अर्जुन कुमालको विशेष योगदान रह्यो । प्लेयर अफ द म्याचसमेत रहेका कुमालले १०३ रन बनाउँदै शतक पूरा गरेका थिए । ११८ बलको सामना गरेका उनले १४ चौका र १ छक्का प्रहार गरेका थिए । कास्कीका लागि मुस्कान थापाले ७७ बलमा ७ चौका र १ छक्कासहित ५९, सिब्रिन श्रेष्ठले ३२ बलमा ३ चौका र २ छक्का सहित ४३, कृष्ण पौडेलले ९ बलमा ३ छक्कासहित २६, विपिन खत्रीले ११ बलमा २ छक्कासहित २१ रन जोडेका थिए।
उता तनहुँका लागि समीर कँडेलले ७५ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६४, देव राईले ४१ बलमा ४ चौकासहित २५ रन जोड्दा टोलीका अन्य खेलाडीले दोहोरो अंकको योगफल बनाउन सकेन्न ।
तनहुँका रमेश शाह र विरु बादलले समान २-२ विकेट हात पार्दा वंश क्षेत्री र समीर कँडेलले समान १-१ विकेट हात पारे । कास्कीका विपिन खत्री र विश्वास पराजुलीले समान ३-३ विकेट हात पार्दा कृष्ण पौडेलले २, सुभास भण्डारीले १ विकेट हातपारेका थिए । प्रतयोगिताअन्तर्गत सोमबार स्याङ्जा र नवलपुरबिच खेल हुनेछ ।