राष्ट्रिय लिग : दसौँ खेलमा आएर जनजागृतिले जोड्यो अंक

मोफसलमा सहभागिता जनाउँदै आएको जनजागृतिले पहिलोपटक माथिल्लो लिग खेलिरहेको हो

आइतबार, १ चैत, २०८२
डिजिटल संस्करण

नयाँ टोली नव जनजागृति युवा क्लबले राष्ट्रिय लिगको दशौँ खेलमा आएर पहिलो अंक जोडेको छ । शनिबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको आफ्नो दशौँ खेलमा जनजागृतिले सातदोबाटो युवा क्लबसँग १–१ को बराबरी खेल्दै एक अंक जोडेको हो । राष्ट्रिय लिगको ८५औँ खेलमा जनजागृतिले अग्रता बनाएपछि त्यसलाई जोगाउन सकेन र अंक बाँढ्न पुग्यो । यदि अग्रता जोगाएको भए, टिमले राष्ट्रिय लिगमा पहिलो जित निकाल्ने थियो । 

मोफसल प्रतियोगितामा सहभागिता जनाउँदै आएको नव जनजागृतिले पहिलोपटक माथिल्लो लिग खेलेको हो । हेटौँडामा भएको एन्फा प्रेसिडेन्ट लिगबाट जन जनजागृतीसहित चार क्लब राष्ट्रिय लिगमा छनोट भएका थिए ।

अंमर डंगोलजस्ता अनुभवी खेलाडी समावेश गरेर राष्ट्रिय लिग खेल्न आएको क्लब स्वाभाविक लय भने पाउन सकेन । जनजागृतिले १०औैँ खेलमा आएर अंकको खाता खोलेको हो । उसले १० खेलमा खेल्दा मात्र ९ गोल गरेको छ । विपक्षीबाट ३४ गोल व्यहोरेको छ । उता सातदोबाटो सातौं खेलसम्म पनि जितविहीन रह्यो । सातदोबाटोले आफ्नो तेस्रो खेलमा मनाङ मस्र्याङ्दीविरुद्ध १–० को संघर्षपूर्ण जित हासिल गरेपछि हालसम्म जित निकाल्न सकेको छ । सातदोबाटोले तीन हार र चार बराबरी खेलेको छ ।

जनजागृतिको अग्रता 
जनजागृतिले विक्रम थोकरको गोलमार्फत खेलको २६औँ मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफमा त्यसलाई टिमले जोगाउन सफल भयो । तर, दोस्रो हाफमा भने टोली अग्रता जोगाउन सकेन । दोस्रो हाफको तेस्रो मिनेटमै अरुण लामाले सातदोबाटोलाई खेलमा फर्काएका थिए । त्यसपछि दुवै टोलीबाट गोल नहुँदा खेल बराबरीमा सकिएको थियो । 

अञ्जनको गोलमा टर्‍यो हार
दिनको दोस्रो खेलमा न्युरोड टिम एनआरटी र श्री भगवती क्लबले १–१ को बराबरी खेलेका छन् । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा पहिलोपटक राष्ट्रिय लिग खेलिरिहेको श्री भगवती टोखाले अग्रता बनायो । विदेशी खेलाडी बाख्रोमजोन तुर्गुन्पोलातोपले अग्रता दिलाए । उनले खेलको ६६औँ मिनेटमा गोल गरेका थिए । तर, इन्जुरी समयमा कप्तान अञ्जन विष्टले एनआरटीको हार टारेका थिए । खेलको ९० मिनेटसम्म श्री भगवती १–० ले अगाडि थियो । ११औँ खेलमा पाँच जितपछि २० अंक जोडेको एनआरटी सातौँ स्थानमा छ । श्री भगवती क्लब भने तेस्रो जित निकाल्नबाट वञ्चित भयो । 

सुझावित समाचार