देशभर खाना पकाउन प्रयोग गरिने ग्यास अभाव भएको हल्ला चलिरहेको वेला खोटाङमा भने अभाव नरहेको बताइएको छ । इरान र अमेरिकाबिच जारी युद्धका कारण बाहिरबाट ग्यास नआए पनि जिल्लामा भने अभाव नभएको उद्योग वाणिज्य संघ खोटाङले जनाएको हो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा रिजालको लगायतका ग्यास सिलिन्डरहरू हालसम्म पर्याप्त रहेको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले जानकारी दिएका छन् । ‘कम्पनीहरूले नपठाएका कारण जिल्लामा केही दिन अघिदेखि नोबेल ग्यास भने पर्याप्त मात्रामा थिएन । कटारीबाट तीन सवटा पठाएकाले तत्कालका लागि नोबेल ग्यास पनि अभाव हुँदैन,’ उनले भने, ‘अहिले हरेक उपभोक्ताले आफ्नो घरमा दुई–तीनवटासम्म ग्यास सिलिन्डर खरिद गरेर भण्डारण गरी राखेका छन् । इरान र अमेरिकामा चलिरहेको युद्ध लामो समयसम्म जारी रहेको खण्डमा भने जिल्लामा ग्याससँगै दैनिक उपभोग्य सामानको समेत अभाव हुने देखिन्छ । अन्यथा अहिले नै ग्यासलगायत कुनै पनि सामानको अभाव छैन ।’
खाना पकाउने ग्यास अभाव भएको बाहिरी हल्ला जिल्लावासीमा समेत फैलिएपछि विशेषगरी विद्यार्थीका लागि प्राथमिकतामा राखेर ग्यास वितरण गरिएको उद्योग वाणिज्य संघले जनाएको छ । विद्यार्थी तथा कोठा भाडामा बस्दै आएका कर्मचारीको समस्यालाई मध्यनजर गर्दै एउटा मात्रै ग्यास सिलिन्डर हुनेलाई प्राथमिकता दिएर वितरण गर्ने गरी तयारी गरिएको वाणिज्य संघका अध्यक्ष आचार्यले जानकारी दिए ।
बाहिरबाट आएका ग्यास सिलिन्डरहरू उपभोक्ताले नै भण्डारण गरेर राख्ने गरी खरिद गरेर लैजाने हुँदा बजारमा पर्याप्त मात्रामा ग्यास सिलिन्डर नदेखिएको व्यापारीहरूले बताएका छन् । इरान र अमेरिकाको युद्धको बहाना बनाएर आफूहरूले जिल्लामा ग्यासको कृत्रिम अभाव सिर्जना तथा कालोबजारी नगरिएको व्यवसायीहरूको दाबी छ ।
बाहिरी जिल्लामा खाना पकाउन प्रयोग गरिने ग्यास अभाव भएको हल्ला फैलिएपछि जिल्लाका उपभोक्ताहरू पनि भण्डारण गरेर राख्ने गरी सिलिन्डर खरिद गर्न थालेका छन् । केही दिनदेखि बाहिरी हल्लामा फैलिएको कारण जिल्लामा पनि ग्यासको व्यापार वृद्धि भएको व्यापारीहरूले बताएका छन् ।
१० स्थानीय तह रहेको जिल्लाका अधिकांश स्थानीयले खाना पकाउनका लागि ग्यास प्रयोग गर्दै आएका छन् । ग्यास आयात रोकिएको खण्डमा पुनः वैकल्पिक उपाय अपनाएर खाना पकाउनुपर्ने बाध्यता सिर्जना हुने देखिएको छ ।
ग्यास चुलाेले छिटो, सजिलो र सस्तोगरी खाना पकाउन सकिने भएपछि गाउँका अधिकांश स्थानीयले दाउरा प्रयोग गरेर खाना पकाउन छाडिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ११ खार्मीका दिलकुमार राईले बताएका छन् । ‘ग्यास अभाव भएको हल्ला गाउँसम्म नै फैलिएको छ । ग्यास चुलाेका कारण धेरैको घरमा आगो बाल्ने अगेनासमेत हटाइसकिएको छ,’ उनले भने, ‘यदि साँच्चिकै अभाव भएको खण्डमा वृद्धवृद्धामात्रै बसेको घरमा समस्या हुने देखिन्छ । अन्यमा खासै प्रभाव पर्दैन ।’
जिल्लामा ग्यास तथा दैनिक उपभोग्यवस्तुको कृत्रिम अभाव एवं कालोबजारीकरण नगर्न जिल्ला प्रशासन कार्यालय खोटाङले व्यापारीहरुलाई आग्रह गरेको छ । कृत्रिम अभाव एवं कालोबजारीकरण गरेको खण्डमा कडाभन्दा कडा कारबाही गरिने गरिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बताएकी छिन् ।