पोषण सुधारका लागि स्थानीय तह, स्वास्थ्य तथा कृषि संयन्त्रबिच सहकार्यमा जोड

शनिबार, ३० फागुन, २०८२
डिजिटल संस्करण

गर्भवती तथा ६ देखि ५९ महिना उमेरका बालबालिकाको पोषण सुधारका लागि सरोकारवालाहरूले स्थानीय तह, स्वास्थ्य तथा कृषि संयन्त्रबिच समन्वय र सहकार्यमा जोड दिएका छन्। 

सिराहा जिल्ला सदरमुकाममा शुक्रबार आयोजित ‘जीवनका लागि पोषण कार्यक्रम’सम्बन्धी जिल्लास्तरीय परिचयात्मक कार्यक्रममा सरोकारवालाहरूले गर्भवती महिला र बालबालिकाको स्वास्थ्यका लागि पोषण महत्त्वपूर्ण पक्ष रहेको उल्लेख गर्दै पोषणसम्बन्धी सचेतना विस्तारले त्यसको विषयमा जागरुकता ल्याउने भएकाले समुदायमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्ने औँल्याए। 

जिल्ला समन्वय समिति सिराहाका प्रमुख दिनेशकुमार महतोले बालबालिका र आमाको स्वास्थ्य सुदृढ बनाउन पोषण अत्यन्त महत्थवपूर्ण पक्ष भएको उल्लेख गर्दै जीवनका लागि पोषण कार्यक्रमले जिल्लाको पोषणको अवस्था सुधार गर्ने अपेक्षा गरे। ‘स्वास्थ्यका लागि पोषण चाहिन्छ,’ उनले भने, ‘पोषणको स्थानीय स्रोतको रूपमा आफ्नै भान्सा, करेसाबारी, आफैँले उब्जाएका अनाज, सागसब्जीको पहिचान गर्ने, खाने तरिकाको विषयमा बुझाउन सकियो भने उल्लेख्य सुधार आउन सक्छ।’

दिगोपनका लागि स्थानीय तहको स्वामित्व

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय सिराहाका प्रमुख युगलकिशोर यादवले पोषण सुधार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै दिगोपनका लागि स्थानीय तहले स्वामित्व लिनुपर्नेमा जोड दिए। ‘स्थानीय तह, स्वास्थ्य संस्था तथा सरोकारवाला निकायबिच समन्वय जरुरी छ,’ उनले भने, ‘पोषण सुधारका प्रयासलाई दिगो बनाउन स्थानीय तहको स्वामित्व र सहभागिता महत्वपूर्ण हुन्छ।’ पोषण, खाद्य सुरक्षा, स्वास्थ्य सेवा र कृषि उत्पादनबिचको अन्तरसम्बन्धलाई सुदृढ गर्दै समुदायकेन्द्रित कार्यक्रम सञ्चालन गरिनुपर्नेमा उनको जोड थियो।

कार्यक्रमको ६ देखि ५९ महिनाका बालबालिकामा शीघ्र कुपोषण अवस्था, आमा तथा नवजात शिशुको पोषणमा सुधार, समुदायमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिबृद्धि, तीन तहको सरकारको मातृ तथा नवजात शिशुको पोषण सुधारमा प्रतिबद्धता, स्वामित्व तथा दिगोपन प्रवर्द्धन गर्ने उद्देश्य रहेको सहयोगी हेलेन केलर इन्टरनेसनलका प्रतिनिधि अमितराज साहले जानकारी दिए। 

उनका अनुसार पोषणको कमीले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा दीर्घकालीन असर पार्ने भएकाले कार्यक्रममार्फत समुदायस्तरमा पोषणसम्बन्धी सचेतना अभिवृद्धि, सेवा पहुँच विस्तार तथा व्यवहार परिवर्तनमा जोड दिइनेछ। मधेश प्रदेश सरकारको आयोजना तथा दलित विकास मञ्चको सहकार्यमा सञ्चालित कार्यक्रममा जिल्लाका विभिन्न सरकारी तथा सामाजिक संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, महिलास्वास्थ्य स्वयंसेविका तथा अन्य सरोकारवालाहरूको सहभागिता थियो।

सुझावित समाचार