नेकपा (एमाले)को सचिवालय बैठक शनिबार भक्तपुरस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुन्डुनिवासमा जारी रहेको छ। बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा तथा समानुपातिकतर्फ सांसद सिफारिस गर्ने विषयमा विस्तृत छलफल भइरहेको स्रोतले जनाएको छ।
बैठकमा पार्टी नेतृत्वले निर्वाचन परिणामको समग्र विश्लेषण गर्दै आगामी राजनीतिक रणनीति तय गर्ने विषयमा समेत विचार–विमर्श गरिरहेको बताइएको छ। निर्वाचनमा प्राप्त जनमत, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक समीकरणका सम्भावनाबारे पनि नेताहरूले धारणा राखिरहेका छन्।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले प्रत्यक्षतर्फ ९ सिट र समानुपातिकतर्फ १६ सिट प्राप्त गरेको छ। सो परिणामका आधारमा समानुपातिक प्रणालीबाट चयन हुने सांसदको नामावली तयार पार्ने प्रक्रिया अहिले चलिरहेको छ।