भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको १०औँ आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सर्वाधिक २० टोलीले भाग लिए । भारतले अहमदाबाद रंगशालामा न्युजिल्यान्डलाई ९६ रनले हराउँदै तेस्रोपटक विश्वकप उपाधि जित्यो । टी–२० विश्वकप जित्ने भारत सर्वाधिक सफल भयो । इंग्ल्यान्ड र वेस्ट इन्डिजले समान दुईपटक विश्वकप जितेका छन् । इटाली नवप्रवेशी राष्ट्रका रूपमा विश्वकपमा सहभागी भयो ।
डेब्यु विश्वकपमै इटालीले समूह ‘डी’मा सनसनी रूपमा नेपालमाथि १० विकेटको जित निकाल्यो । अफ्रिकी राष्ट्र जिम्बावेले आश्चर्यजनक रूपमा अस्ट्रेलिया तथा श्रीलंकालाई स्तब्ध पार्दै सुपर ८ को स्थान बनायो । अस्ट्रेलियाले जिम्बावेसँग पराजित हुँदा समूह चरणमै सीमित भयो । समूहदेखि सुपर ८ सम्म अपराजित रहेको दक्षिण अफ्रिका अप्रत्याशित रूपमा सेमिफाइनलमा न्युजिल्यान्डबाट नौ विकेटले परास्त भयो ।
आइसिसीले आयोजना गर्ने प्रतियोगितामा दक्षिण अफ्रिका फेरि एकपटक अभागी बन्यो । नेपालले सन् २०१४ पछि विश्वकपमा जित निकाल्यो । नेपालले समूह ‘डी’को अन्तिम खेलमा स्कटल्यान्डलाई सात विकेटले निराश बनाएको थियो । नेपालले आफ्नो समूहको पहिलो खेलमा इंग्ल्यान्डलाई कडा चुनौती दिएको थियो । यद्यपि, अनुभव कमी हुँदा नेपाल अन्तिम ओभरमा इंग्ल्यान्डबाट चार विकेटले पराजित भएको थियो ।
आइसिसीले प्रतियोगिताको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी समेटिएको ‘टिम अफ दी टुर्नामेन्ट’ सार्वजनिक गरेको छ । यसलाई आइसिसीले आफ्नो ड्रिम टिम भनेको छ । जसमा च्याम्पियन भारतका सर्वाधिक चार खेलाडी समावेश भएका छन् । यो ड्रिम टिमको कप्तानी दक्षिण अफ्रिकाका एइडेन मार्क्रमले गर्नेछन् । टोली छनोटका लागि वेस्ट इन्डिजका पूर्वक्रिकेटर इयान बिसप, इंग्ल्यान्डका पूर्वकप्तान इयोन मोर्गन, प्रशिक्षक तथा कमेन्टेटर नटाली जर्मानोस, आइसिसी प्रतिनिधि गौरव सक्सेना र श्रीलंकाका वरिष्ठ खेल पत्रकार रेक्स क्लेमेन्टिन सम्मिलित छनोट समितिले निर्णय गरेको हो ।
साहिबजादा फरहान (पाकिस्तान)
पाकिस्तान सुपर ८ को समूह ‘२’ मा रनरेटका आधारमा पछि पर्यो । जसका कारण पाकिस्तान सेमिफाइनलमा पुग्न सकेन । यद्यपि, पाकिस्तानका ओपनर फरहानले विश्वकपमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका थिए । उनले सात खेलमा तीन सय ८३ रन बनाए । विश्वकपको एकै संस्करणमा दुई शतकीय इनिङ्स खेल्ने उनी पहिलो खेलाडी बने । उनको औसत ७६.६० र स्ट्राइक रेट १६०.२५ थियो । फरहानले सुपर ८ को अन्तिम खेलमा श्रीलंकाविरुद्ध शतक जोडेका थिए ।
सन्जु सामसन (भारत, विकेटकिपर)
ओपनर सामसनका लागि यो विश्वकप विशेष रह्यो । पहिलो दुई खेलमा अवसर पाएपछि उनको प्रदर्शन गतिलो रहेन । तर, सुपर ८ मा जिम्बावेविरुद्धको खेलसँगै उनी चम्किए । सामसन यसरी विश्वकपमा अगाडि बढे कि उनकै प्रदर्शनका भरमा भारतले विश्वकप नै उचाल्यो । लगातार तीन खेलमा अर्धशतकीय योगदान सधैँ भारतको जितमा प्रमुख भूमिका निर्वाह गरेका सामसन प्रतियोगिताकै उत्कृष्ट खेलाडी बने । उनले पाँच खेलमा तीन सय २१ रन बनाए । सुपर ८ को निर्णायक खेलमा वेस्ट इन्डिजविरुद्ध अविजित ९७ रन बनाएका उनले सेमिफाइनलमा इंग्ल्यान्ड र फाइनलमा न्युजिल्यान्डविरुद्ध समान ८९ रन बटुले ।
ईशान किसन (भारत)
१०औँ संस्करणमा भारतका अर्का ओपनर ईशानले पनि उत्कृष्ट खेल प्रदर्शन गरे । भारतलाई ओपनिङमा सानदार सुरुवात दिलाउने क्रममा उनको भूमिमा निर्णायक रह्यो । विशेषत: वेस्ट इन्डिज, इंग्ल्यान्ड र न्युजिल्यान्डविरुद्धको ओपनिङमा उनले विस्फोटक ब्याटिङ गरेका थिए । किसनले नौ खेलमा तीन सय १७ रन बनाउँदा स्ट्राइक रेट १९३.२९ रहेको थियो । उनले पाकिस्तानविरुद्ध ४० बलमा ७७ रन बनाएका थिए ।
एडेन मार्क्रम (दक्षिण अफ्रिका, कप्तान)
यसपटक दक्षिण अफ्रिकालाई उपाधिसम्म पुर्याउने लक्ष्य एडेनले राखेका थिए । यही योजनाअनुसार एडेनले समूह चरण तथा सुपर ८ सम्म दक्षिण अफ्रिकालाई अपराजित बनाए । तर, सेमिफाइनलमा दक्षिण अफ्रिका न्युजिल्यान्डबाट अप्रत्याशित रूपमा फराकिलो अन्तरले पराजित हुँदा प्रतियोगिताबाट बाहिरियो । दक्षिण अफ्रिकाले सेमिफाइनल स्थान सुरक्षित गर्दा कप्तान एडेनले ब्याटिङमा योगदान दिएका थिए । उनले आठ खेलमा दुई सय ८६ रन बनाए । उनले तीन अर्धशतक प्रहार गरी दक्षिण अफ्रिकालाई लगातार सात खेलसम्म अपराजित यात्रा गराए । यसै प्रदर्शनका आधारमा आइसिसीले उनलाई कप्तानी जिम्मेवारी दिएको हो ।
हार्दिक पान्ड्या (भारत)
भारतले उपाधि जित्दा अलराउन्डर हार्दिकको योगदान पनि बिर्सन मिल्दैन । ब्याटिङ, फिल्डिङ र बलिङमा हार्दिकको प्रदर्शन अब्बल रह्यो । उनले नौ खेलमा दुई सय १७ रन बनाउँदा भारतको मध्यक्रम बलियो देखिएको थियो । यसैगरी, उनले नौ विकेट लिए । जिम्बावेविरुद्ध २३ बलमा उनले ५० रन जोडेका थिए । भारतले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरी २५६/४ को विशाल योगफल बनायो । हार्दिकले समूह चरणमा पाकिस्तानविरुद्ध १६ रन खर्चेर दुई विकेट लिएका थिए । नकआउट चरणमा उनी प्रभावशाली रूपमा देखिए ।
विल ज्याक्स (इंग्ल्यान्ड)
१०औँ विश्वकपमा इंग्ल्यान्डका ज्याक्सले सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । प्रतियोगितामा उत्कृष्ट अलराउन्डर खेलाडीको सूची तयार पार्दा उनी शीर्षस्थानमै रहे । ज्याक्सले मध्यक्रममा ब्याटिङ गरी इंग्ल्यान्डको रनरेट उकास्ने भूमिमा निर्वाह गरेका थिए । उनले आठ खेलमा दुई सय २६ रन बनाउनुका साथै नौ विकेट लिए । समूह ‘डी’मा ज्याक्सले नवप्रवेशी इटालीसँगको खेलमा ५३ रनको नटआउट इनिङ्स खेलेका थिए । इंग्ल्यान्डको सेमिफाइनल यात्रामा उनी चारपटक म्यान अफ दी म्याच भएका थिए । विश्वकपको एकै संस्करणमा धेरै म्यान अफ दी म्याच हुने ज्याक्स अगाडि छन् ।
ज्यासन होल्डर (वेस्ट इन्डिज)
दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिजको यात्रा सुपर ८ सम्म रह्यो । भारतसँग सुपर ८ को समूह ‘१’मा पराजित हुँदै वेस्ट इन्डिज बाहिरियो । प्रतियोतिगामा अलराउन्डरका रूपमा सिनियर खेलाडी होल्डर अगाडि रहे । उनले बलिङसँगै ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरे । होल्डरले सात खेलमा १० विकेट लिए । ब्याटिङका क्रममा उनले एक सय ४१ रन पनि बनाए । विश्वकपको उनको उत्कृष्ट प्रदर्शन नै नेपालविरुद्ध रह्यो, जहाँ उनले २७ रन खर्चेर चार विकेट लिएका थिए । भारतसँगको खेलमा उनले ३७ रन बनाएका थिए ।
जसप्रित बुमराह (भारत)
आइसिसीले आफ्नो ड्रिम टिम तयार पार्दा सिमर बलरका रूपमा भारतका विश्व च्याम्पियन बलर बुमराहलाई पनि समावेश गरेको छ । जब–जब भारत संकटमा रहन्थ्यो, त्यसवेला बुमराह आफ्नो जादुमयी बलिङका भरमा भारतलाई खेलमा फर्काउँथे । विशेषत: सेमिफाइनल खेलमा बुमराहले इंग्ल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । भारत लगभग हारको मुखमा पुगेको अवस्थामा उनको दुई ओभर स्पेल विशेष रह्यो । बुमराहको यही स्पेलमै भारतले अन्तिम ओभरमा इंग्ल्यान्डलाई हराएको थियो । भारतीय तीव्र बलर बुमराहले विश्वकपमा संयुक्त रूपमा सर्वाधिक १४ विकेट लिए । उनले उपाधि भिडन्तमा न्युजिल्यान्डविरुद्ध चार ओभरमा १५ रन खर्चेर चार विकेट लिँदै भारतलाई तेस्रोपटक विश्वकप विजेता बनाए ।
लुंगी एन्गिडी (दक्षिण अफ्रिका)
दक्षिण अफ्रिकाको सेमिफाइनल यात्रासम्म फास्ट बलर लुंगीको प्रदर्शन अब्बल रह्यो । सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध उनी त्यति चम्केनन् । बलिङमा विपक्षी ब्याट्सम्यानलाई दबाबमा राख्ने क्षमता लुंगीको हो । उनले विश्वकपमा सात खेलमा १२ विकेट लिँदै आफ्नो क्षमता देखाए । समूह चरणमा उनले क्यानडाविरुद्ध उत्कृष्ट बलिङ स्पेल गरेका थिए, जसमा उनले ३१ रन खर्चेर चार विकेट लिए ।
आदिल रसिद (इंग्ल्यान्ड)
आइसिसीको ड्रिम टिममा स्पिनरको जिम्मेवारी इंग्ल्यान्डका आदिलले लिएका छन् । आइसिसीको यो ड्रिम टिममा पर्ने उनी एक मात्र स्पिनर हुन् । बलिङ विभागमा फास्ट बलरले वर्चस्व जमाएका छन् । इंग्ल्यान्डका लेग स्पिनरले आठ खेलमा १३ विकेट लिए । उनले समूह ‘डी’मा स्कटल्यान्डसँगको खेलमा उत्कृष्ट स्पेल गरी ३६ रन खर्चेर तीन विकेट लिए ।
ब्लेसिङ मुजराबानी (जिम्बाबे)
जिम्बावे पहिलोपटक सुपर ८ मा पुग्दा फास्ट बलर ब्लेसिङको योगदान पनि उत्तिकै छ । उनले ६ खेलमा १३ विकेट लिए । ब्लेसिङले पूर्वविजेता अस्ट्रेलियाविरुद्धको खेल बिर्सेका छैनन् । यस खेलमा उनले १७ रन खर्चेर चार विकेट लिँदा अस्ट्रेलिया जिम्बावेबाट विश्वकपमा दोस्रोपटक पराजित भयो । सन् २००७ पनि पहिलो संस्करणमा अस्ट्रेलियालाई जिम्बावेले हराएको थियो ।
आइसिसीको सहयोगमा