पछिल्लो २८ फेब्रुअरीमा मध्यपूर्वको इरानमा अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित सयौँ बालबालिका मारिएपछि मध्यपूर्वको अवस्था तनावपूर्ण बन्दै गएका वेला हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को ‘एकता महाधिवेशन’को विषयमा खाडी मुलुकका एनआरएनएहरूले प्रश्न उठाएका छन् ।
१४–१६ मार्च (३० फागुन–२ चैत) सम्म काठमाडौंमा हुन लागिरहेको एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) को एकताको १२औँ महाधिवेशनको सन्दर्भमा संघको राष्ट्रिय समन्वय परिषद् कतारले अन्तर्राष्ट्रिय असन्तुष्टि जनाएको छ । परिषद्का कतार अध्यक्ष कृष्ण पन्थीले पछिल्लो दुई सातादेखि मध्यपूर्वको अवस्था जटिल बन्दै गइरहेको भए पनि त्यसलाई नजरअन्दाज गर्दै आइसिसीले एकता महाधिवेशनको नाममा मध्यपूर्वमा रहेका प्रवासी नेपालीहरूको समस्यालाई उपेक्षा गरिरहेको बताए ।
‘महाधिवेशनको नाममा आइसिसी मध्यपूर्वका मुलुकहरूमा प्रतिनिधि (डेलिगेट्स) छनाेट प्रक्रियामा मात्र केन्द्रित रह्यो,’ नयाँ पत्रिकासँग उनले भने, ‘मध्यपूर्वमा रहेका नेपालीको अहिलेको मुख्य समस्या के हो, मध्यपूर्वसहित अन्य मुलुकमा समानान्तर रूपमा चलिरहेका एनआरएनएको दुई समूहको एकतासमेत नगरी एकता महाधिवेशनको नाममा बहुसंख्यक प्रवासी नेपालीहरूको भावनामा चोट पुर्याइएको छ ।’ एकता महाधिवेशनका लागि आतुर आइसिसीको भूमिकाले मध्यपूर्वमा कार्यरत लाखौँ नेपालीमाथि खेलबाड गरिएको उनले बताए ।
मध्यपूर्वमा अहिलेको गम्भीर संकटलाई समेत बेवास्ता गरी अधिकांश प्रवासी नेपालीको भौतिक उपस्थितिलाई लत्याउँदै जबर्जस्ती एकता महाधिवेशन गराउन खोजिएको परिषद् कतारका तृतीय उपाध्यक्ष जहागिर आलमले बताए । ‘एनआरएनए आइसिसीले विश्वका ९० भन्दा बढी देशमा करिब ८० लाख गैरआवासीय नेपाली सदस्य रहेको दाबी गर्दै आएको छ,’ उनले भने, ‘तर, मध्यपूर्वका देशहरूमा रहेका १७ लाख २५ हजारभन्दा बढी गैरआवासीय नेपालीले अहिले भोगिरहेको संकटलाई बेवास्ता गर्न मिल्छ र ?’
मध्यपूर्व क्षेत्रका देशहरूमा देखिएको तनावको कारणले पूर्वघोषत मितिमा गर्न लागिएको महाधिवेशनमा अपेक्षा गरिएअनुरूप प्रतिनिधिहरू आउन नसक्ने हुँदा केही समयका लागि सार्न आफूहरूले गरेको अनुरोधलाई बेवास्ता गरिएको उनको गुनासो छ ।
उच्चमा निषेधाज्ञाको रिट
परराष्ट्र मन्त्रालयका अनुसार वैदेशिक रोजगारी, अध्ययन तथा अन्य प्रयोजनका लागि मध्यपूर्वका देशहरूमा १७ लाख २६ हजार २८४ नेपाली छन् । १६ फागुनमा सुरु भएको युद्धले मध्यपूर्वी क्षेत्रका संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, कुवेत, इराक, बहराइन, ओमान, इजराइल, लेबनान, इरानलगायतका मुलुकहरूमा रहेका नेपालीहरू प्रभावित छन् ।
एनआरएनए आइसिसी अहिले महेश श्रेष्ठ र डा. बद्री केसीको नेतृत्वमा समानान्तर रूपले समूहमा चलिरहेको छ । मध्यपूर्वी क्षेत्रमा युएई, कतार, कुवेतलगायतका देशहरूमा दुवै समूहले आ–आफ्ना गतिविधि गरिरहेको जनाइएको छ । विभिन्न मुलुकहरूमा रहेका समानान्तर समितिहरूको एकता नै नगरी एकता महाधिवेशन गर्न खोजिएको भन्दै प्रेम गाहामगरले उच्च अदालत पाटनमा २६ फागुनमा रिट हालेका छन् ।
परराष्ट्र मन्त्रालय, गैरआवासीय नेपाली संघको १२औँ महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिको कार्यालय, अन्तर्राष्ट्रिय समन्वय परिषद्, सचिवालय, संघका अध्यक्षहरू महेश श्रेष्ठ र बद्री केसीलाई विपक्षी बनाइएको रिटमा २७ फागुनमा न्यायाधीश कृपासुर कार्कीको एकल इजलासले २९ फागुनमा दुवै पक्षको सुनुवाइ गरी अन्तरिम आदेश जारी जारी हुने–नहुने सम्बन्धमा निर्णयमा पुग्नु उपयुक्त हुने देखिएकाले सो प्रयोजनका लागि छलफल पेसी तोक्न आदेश दिएको थियो ।