धनुषा १ मा रास्वपाका किशोरी साहको रिट ‘हेर्न नमिल्ने’मा, अर्को सुनुवाइ १ चैतमा

शुक्रबार, २९ फागुन, २०८२
डिजिटल संस्करण

धनुषा १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह कमलले उम्मेदवारी खारेजविरुद्ध दायर गरेको रिट निवेदन सर्वोच्च अदालतमा ‘हेर्न नमिल्ने’मा परेको छ।

शुक्रबार उक्त रिटको सुनुवाइ न्यायाधीश सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा तोकिएको थियो। तर, न्यायाधीश सुवेदीले यसअघि सोही विषयसँग सम्बन्धित अर्को रिटमा अन्तरिम आदेश जारी गरिसकेको कारण देखाउँदै आफूले यो मुद्दा हेर्न नमिल्ने बताएपछि रिट ‘हेर्न नमिल्ने’मा परेको हो।

किशोरी साह कमलले आफ्नो उम्मेदवारी खारेज गरिएको विषयमा दुईवटा रिट दायर गरेका थिए। पहिलो रिटमार्फत उनले निर्वाचन आयोगको निर्णय बदर गरी आफ्नो उम्मेदवारी कायम गर्न माग गरेका छन् भने दोस्रो रिट कर्जा सूचना केन्द्रले आफूलाई कालोसूचीमा राखेको निर्णयविरुद्ध दायर गरिएको हो।

कर्जा सूचना केन्द्रले कमलको नाम कालोसूचीमा राखेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो। निर्वाचन आयोगको निर्णयविरुद्धको रिटमा पहिलो सुनुवाइ फागुन २५ गते भएको थियो। त्यसपछि दुवै पक्षलाई छलफलका लागि फागुन २९ गते बोलाइएको थियो। तर, शुक्रबार सुनुवाइ तोकिए पनि ‘हेर्न नमिल्ने’मा परेपछि निर्णय हुन सकेन।

यसबिच निर्वाचन आयोगले धनुषा १ मा नेकपाका उम्मेदवार मातृका यादवलाई निर्वाचित घोषणा गरिसकेको छ। किशोरी साह कमलको उम्मेदवारीसम्बन्धी विवादमा अब सर्वोच्च अदालतको आइतबार बस्ने इजलासले थप सुनुवाइ गर्ने भएको छ।

सुझावित समाचार